लमहीमा जग्गा वर्गीकरण तथा भू-उपयोग नक्सा अद्यावधिक सम्पन्न, साउन १ देखि कित्ताकाट प्रक्रिया थप व्यवस्थित हुने

प्रिया स्मृती गजमेर
देउखुरी,२ असार ।
लमही नगरपालिकाको जग्गा वर्गीकरण तथा भू-उपयोग नक्सा अद्यावधिकको महत्वपूर्ण कार्य सम्पन्न भएको छ । जग्गा वर्गीकरण तथा भू-उपयोग नक्सा अद्यावधिक गर्ने जिम्मेवारी पाएको समृद्धि इन्जिनियरिङ कन्सल्टेन्सी मार्फत तयार गरिएकोअन्तिम प्रतिवेदन इञ्जिनिएर समिर गौतमले नगर प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गर्नु भएको हो ।

नेपाल सरकारले भू-उपयोग ऐन तथा नियमावली कार्यान्वयन गर्दै जग्गा वर्गीकरण नगरेका स्थानीय तहमा कित्ताकाट प्रक्रिया रोक्दै आएको अवस्थामा लमही नगरपालिकाले समयमै आवश्यक प्रक्रिया पूरा गरी जग्गा वर्गीकरण तथा भू-उपयोग नक्सा अद्यावधिकको कार्य सम्पन्न गरेको हो । यससँगै आगामी आर्थिक वर्षको साउन १ गतेदेखि लमही नगरपालिकाभित्र जग्गाको कित्ताकाट प्रक्रिया थप व्यवस्थित र निरन्तर सञ्चालन हुने भएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख जोगराज चौधरीले जग्गा वर्गीकरण तथा भू-उपयोग नक्सा अद्यावधिक कार्य नगरको दीर्घकालीन विकासका लागि महत्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले अनियन्त्रित शहरीकरण, अव्यवस्थित बसोबास तथा कृषि योग्य जमिनको संरक्षणका लागि वैज्ञानिक भू-उपयोग योजना आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“अब लमहीका नागरिकले आफ्नो जग्गा कुन प्रयोजनका लागि वर्गीकृत छ भन्ने स्पष्ट जानकारी प्राप्त गर्नेछन् । यसले भविष्यमा विकास निर्माण, पूर्वाधार विस्तार र लगानी व्यवस्थापनमा सहजता ल्याउनेछ,” प्रमुख चौधरीले भन्नुभयो । उहाँले नगरपालिकाले नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले सम्पूर्ण प्रक्रिया पारदर्शी र वैज्ञानिक ढंगले सम्पन्न गरेको जानकारी दिनुभयो ।

उपप्रमुख लक्ष्मी योगीले भू-उपयोग नक्सा अद्यावधिकले नगरपालिकाको समग्र विकास योजनालाई थप प्रभावकारी बनाउने बताउनुभयो । उहाँका अनुसार अब कृषि, आवास, व्यापारिक तथा औद्योगिक क्षेत्रको स्पष्ट पहिचान भएपछि योजनाबद्ध विकासको आधार तयार भएको छ ।

“स्थानीय तहको विकास सडक र भवन निर्माण मात्र होइन, जमिनको उचित व्यवस्थापन पनि हो । यो कार्यले भावी पुस्ताका लागि सुरक्षित र व्यवस्थित शहर निर्माण गर्न मद्दत पुर्‍याउनेछ,” उपप्रमुख योगीले बताउनुभयो । त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जग्गा वर्गीकरण सम्पन्न भएसँगै सेवाग्राहीले विभिन्न प्रशासनिक प्रक्रियामा सहजता अनुभव गर्ने बताउनुभयो । उहाँले भू-उपयोग सम्बन्धी अभिलेख व्यवस्थित भएपछि सेवा प्रवाह छिटो, प्रभावकारी र पारदर्शी हुने विश्वास व्यक्त गर्नुभयो ।

“पहिले विभिन्न सिफारिस तथा कित्ताकाट प्रक्रियामा अन्योल देखिने गरेको थियो । अब वडा कार्यालय तथा नगरपालिकाले स्पष्ट आधारका साथ निर्णय गर्न सक्नेछन्,” केसीले भन्नुभयो ।

स्थानीय नागरिकलाई के के फाइदा
जग्गा वर्गीकरण तथा भू-उपयोग नक्सा अद्यावधिक कार्य सम्पन्न भएसँगै लमही नगरपालिकाका स्थानीय नागरिकले प्रत्यक्ष रूपमा विभिन्न लाभ प्राप्त गर्ने भएका छन् । सबैभन्दा महत्वपूर्ण पक्ष भनेको कित्ताकाट प्रक्रियामा सहजता आउने हो । यसअघि वर्गीकरण नहुँदा रोकिएका वा ढिला भएका धेरै काम अब सहज रूपमा अगाडि बढ्न सक्नेछन् । नागरिकले आफ्नो जग्गा कुन क्षेत्रमा पर्छ भन्ने स्पष्ट जानकारी पाउने भएकाले घर निर्माण, व्यवसाय सञ्चालन, उद्योग स्थापना वा कृषि उत्पादनका योजना बनाउन सहज हुनेछ ।


त्यसैगरी वडा कार्यालयहरूले विभिन्न सिफारिस तथा प्रमाणित गर्ने कार्यहरू स्पष्ट आधारमा गर्न सक्नेछन् । यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।

भू-उपयोग नक्सा अद्यावधिक भएपछि कृषि योग्य जमिन संरक्षणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । कृषि क्षेत्रलाई अनियन्त्रित रूपमा घडेरीमा परिवर्तन गर्ने प्रवृत्ति नियन्त्रण हुने तथा उत्पादनशील भूमि संरक्षण गर्न मद्दत पुग्नेछ ।

व्यवस्थित शहरीकरणमा टेवा
लमही नगरपालिका तीव्र रूपमा विस्तार भइरहेको नगर क्षेत्र हो । पछिल्ला वर्षहरूमा बढ्दो जनसंख्या, बसाइँसराइ तथा व्यवसायिक गतिविधिका कारण शहरीकरणको गति बढिरहेको छ । यस्तो अवस्थामा भू-उपयोग योजना बिना विकास गर्दा अव्यवस्थित बस्ती विस्तार, सडक तथा पूर्वाधार व्यवस्थापनमा समस्या आउने सम्भावना रहन्छ ।

नयाँ अद्यावधिक नक्साले आवासीय, कृषि, व्यापारिक, औद्योगिक, सार्वजनिक तथा संरक्षण क्षेत्रहरूको स्पष्ट सीमांकन गरेको छ । यसले भविष्यका विकास आयोजना सञ्चालन गर्दा उचित स्थान छनोट गर्न सहयोग पुग्नेछ ।

राजस्व वृद्धि हुने अपेक्षा
नगरपालिकाले जग्गाको अभिलेख तथा उपयोगको अवस्था व्यवस्थित गरेसँगै राजस्व संकलन प्रणाली पनि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । जग्गाको वास्तविक उपयोग र वर्गीकरणका आधारमा राजस्व व्यवस्थापन गर्न सहज हुने भएकाले स्थानीय सरकारको आन्तरिक आम्दानीमा वृद्धि हुने विश्वास गरिएको छ । यसबाट प्राप्त हुने राजस्वलाई शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी तथा अन्य विकास निर्माणका क्षेत्रमा लगानी गर्न सकिने नगरपालिकाले जनाएको छ ।

दीर्घकालीन विकासको आधार
भू-उपयोग नक्सा अद्यावधिक तथा जग्गा वर्गीकरण प्रशासनिक प्रक्रिया मात्र नभई नगरको दीर्घकालीन विकासको आधार भएको सरोकारवालाहरूको भनाइ छ । यसले लगानीमैत्री वातावरण निर्माण गर्ने, प्राकृतिक स्रोत संरक्षण गर्ने तथा योजनाबद्ध विकासलाई संस्थागत गर्ने आधार तयार गरेको छ ।

प्रतिवेदन हस्तान्तरणसँगै लमही नगरपालिकाले भू-उपयोग व्यवस्थापनको महत्वपूर्ण चरण पूरा गरेको छ । आगामी दिनमा यसले स्थानीय सरकारको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै नागरिकलाई सहज, पारदर्शी र व्यवस्थित सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का मनोज कुमार चौधरी, ५ का ओम प्रसाद सुवेदी, ६ का श्याम नारायण चौधरी, ८ का उमेश कुमार खड्का, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन प्रशासन प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो ।