तुलसीपुरमा नागरिक आरोग्य समिति गठन

तुलसीपुर २१ असार ।

जिल्लाका दश वटै पालिकामा स्थानीय नागरिक आरोग्य समिति गठन प्रक्रिया सुरु गरिएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७को नीति तथा कार्यक्रममा निरोगी नेपालको कार्यक्रमअनुसार नागरिकहरुलाई स्वस्थ राख्नका लागि स्थानीयस्तरमा नागरिक आरोग्य समिति गठन गर्न थालिएको हो । तुलसीपुरमा नगरप्रमुख टीकाराम खड्काको संयोजकत्वमा समिति गठन गरिएको छ ।

स्वास्थ्य जनप्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपाने सदस्य सचिवकारुपमा रहनुभएको छ ।सदस्यहरुमा शिक्षा महाशाखाका प्रमुख चक्रबहादुर भण्डारी, मेट्रो अस्पतालका प्रमुख प्रकाश साहु, आयुर्वेद सरोकारवालाको तर्फबाट सदस्यहरुमा देबहादुर बस्नेत र गोकर्ण पौडेल रहनुभएको छ


। तुलसीपुर उपमहानगरपालिका,लमही नगरपालिका र दंगीशरण,बबई,राप्ती गाउँपालिकामा पालिकास्तरको नागरिक आरोग्य समिति गठन गरिएको छ । त्यस्तै घोराही उपमहानगरपालिकाको वडा नम्बर १५मा भने वडास्तरीय समिति गठन गरिएको छ । राप्ती आयुर्वेद अस्पतालका प्रमुख मदनकुमार विसीका अनुसार समितिमार्फत् स्वस्थकर आहार,टोल टोल, सामुदायिक वनमा जडिबुटी रोपण,उपयोग बारेमा जानकारी दिने,आयुर्वेदीय जीवनशैलीका बारेमा गतिविधि सञ्चालन गरिनेछ । प्रादेशिक आयुर्वेद चिकित्सालयका निमित्त निर्देशक डाक्टर सन्तोष ठाकुरले सरकारको पाँचवर्षे कार्यक्रमअनुसार स्वस्थ जीवन,निरोगी नागरिक बनाउनका लागि पालिकास्तरमा समिति बिस्तार गर्न थालिएको बताउनुभयो । उहाँले समितिमार्फत् प्रत्येक विद्यालयमा आहार,विहार,जीवनशैलीका बारेमा अभियानबाटै जानकारी दिइने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खडकाले पालिकामार्फत् नीति तथा कार्यक्रममा प्रत्येक वडामा नागरिक आरोग्यशाला, व्यायामशाला सञ्चालनका लागि समावेश गरिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाभित्रै प्रादेशिक तह र जिल्ला तहका एक/एक वटा आयुर्वेद अस्पतालहरु सञ्चालनमा रहेका छन् । जिल्लाका चार ठाउँमा आयुर्वेद औषधालयहरु रहेका छन् । बंगलाचुली,गढवा,राजपुर र बेलामा रहेका छन् ।