
दाङ, ०५ असोज ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन तोकिएकै समयमा हुने भएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन समितिले राजीनामा दिएपछि निर्वाचन प्रक्रिया अन्योलमा परेको थियो।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईसहित सदस्य भूपबहादुर केसी र सदस्य ठाकुर गिरीले राजीनामा दिएपछि निर्वाचन तोकिएको समयमा हुने वा नहुने विषयमा अन्योल देखिएको थियो।
तर संघका एक पदाधिकारीले इन्द्रेणी अनलाइनलाई दिएको जानकारीअनुसार निर्वाचन प्रक्रिया नरोकिई तोकिएकै समयमा निर्वाचन हुने भएको छ। उनका अनुसार निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन आगामी असोज ११ गते हुने कार्यतालिका छ। निर्वाचनका लागि अध्यक्ष पदमा चार जनासहित विभिन्न पदमा उम्मेदवारीसमेत दर्ता भइसकेको छ।
निर्वाचन समितिले राजीनामा दिएपछि नयाँ निर्वाचन समिति गठन गर्ने वा अन्य वैधानिक प्रक्रियामार्फत निर्वाचन सम्पन्न गर्ने विषयमा संघले आवश्यक निर्णय गर्ने तयारी गरेको बताइएको छ।



लाइभदाङ । ५ आश्विन २०८३, सोमबार २२:१६ बजे