राप्तीमा शैक्षिक कार्यक्रमको त्रैमासिक समीक्षा, असल अभ्यास आदानप्रदान

मसुरिया, ५ असोज ।
दाङको राप्ती गाउँपालिकामा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूबीच शैक्षिक कार्यक्रमको त्रैमासिक समीक्षा तथा असल अभ्यास आदानप्रदान गरिएको छ।

गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा सोमबार पालिकाको सभाहल मसुरियामा भएको कार्यक्रममा विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमको प्रगति, कार्यान्वयन अवस्था र आगामी कार्ययोजनाबारे समीक्षा गरिएको हो।

कार्यक्रममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २००६ (संशोधनसहित) को दफा ६५ को उपदफा (४) बमोजिम शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधि (पीआईपी) बारे समेत छलफल गरिएको थियो।

राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापकहरूले आ–आफ्नो विद्यालयमा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रम, प्रगति तथा उपलब्धिबारे प्रस्तुति गर्नुभएको थियो। विद्यालयमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा समाधानका उपायबारे समेत छलफल भएको थियो।

विभिन्न विद्यालयले सञ्चालन गरेका प्रभावकारी शैक्षिक गतिविधि तथा असल अभ्यास प्रस्तुत गर्दै प्रधानाध्यापकहरूले अनुभव आदानप्रदान गर्नुभएको थियो। यस क्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयमा सञ्चालन भइरहेका अतिरिक्त क्रियाकलापबारे समेत छलफल भएको थियो।


सो अवसरमा कार्यवाहक अध्यक्ष चौधरीले पालिकाले विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि आवश्यक सहयोग गर्दै आएको बताउनुभयो।

शिक्षामा गरिएको लगानीको प्रतिफल तत्काल देखिन नसक्ने बताउँदै उहाँले शिक्षामा गरिएको लगानीको परिणाम दीर्घकालमा देखिने भएकाले निरन्तर सुधारका प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि पेशागत तालिमको व्यवस्था तत्काल गर्ने बताउँदै शिक्षा क्षेत्रमा सुधार ल्याउन विद्यालयमा आवश्यकताअनुसार अतिरिक्त कक्षा सञ्चालनमा समेत जोड दिने उल्लेख गर्नुभयो।

गाउँ शिक्षा समिति सदस्य डिलाराम पौडेलले विद्यालयमा सञ्चालन भइरहेका कार्यक्रमको नियमित समीक्षा गर्दै उपलब्धि र कमजोरी पहिचान गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक सुधारका लागि प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक र पालिकाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा आगामी दिनमा विद्यालयका शैक्षिक गतिविधिलाई थप व्यवस्थित बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने विषयमा जोड दिइएको थियो।

कार्यक्रममा शिक्षा समितिका पदाधिकारी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाको शिक्षा शाखा प्रमुख देवी मल्लले गर्नुभएको थियो।