
ओमप्रकाश गुप्ता
भालुवाङ, ५ असोज ।
राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले आफू कार्यरत रहँदा पालिकाको बेरुजु शून्यमा झार्ने लक्ष्य सहित काम गरिरहेको र लक्ष्य नजिक पुगेका बेला आफ्नो सरुवा भएको बताएका छन्।
राप्ती प्रेस मञ्चले सोमबार राप्ती गाउँपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत पाठकको सम्मानमा आयोजना गरेको ‘फेरि भेटौँला’ कार्यक्रममा बोल्दै उनले कार्यसम्पादन र आर्थिक प्रशासनका विषयमा गहिरो अध्ययन गर्दै विगतका कमीकमजोरी सुधार्ने प्रयास गरेको बताए।
पाठकले पालिकाको आर्थिक पाटोलाई व्यवस्थित बनाउँदै बेरुजु घटाउने कामलाई प्राथमिकतामा राखेको उल्लेख गरे। “काम गर्न अझै केही समय पाएको भए राप्ती गाउँपालिकालाई शून्य बेरुजुमै ल्याउने थिएँ,” उनले भने।
उनका अनुसार बेरुजु घटाउनु केवल कागजी प्रक्रिया पूरा गर्ने विषय नभई पालिकाको समग्र आर्थिक अनुशासन र कार्यसम्पादनसँग जोडिएको विषय हो। त्यसैले आफूले कार्यालयका विभिन्न शाखा तथा आर्थिक गतिविधिको अध्ययन गरी देखिएका कमीकमजोरी सुधार गर्दै अघि बढेको उनले बताए।
प्रमुख प्रशासकीय अधिकृत पाठकले आफू राप्ती गाउँपालिकामा कार्यरत रहँदा जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था, पत्रकार तथा स्थानीय बासिन्दाबाट निरन्तर सहयोग, सद्भाव र माया पाएको बताए। सबै पक्षको सहयोगकै कारण आफूले प्रशासनिक कामलाई प्रभावकारी रूपमा अघि बढाउन सकेको उनको भनाइ थियो।
“राप्तीमा रहँदा धेरैको सहयोग र माया पाएँ। यहाँका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, संघसंस्था र राप्तीवासीप्रति म आभारी छु,” पाठकले भने। त्यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले राप्ती गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा उनले प्रशासनिक व्यवस्थापन, आर्थिक सुशासन तथा सेवा प्रवाहमा सुधारका लागि काम गरेको बताएका थिए।

कार्यक्रममा राप्ती प्रेस मञ्चले पाठकलाई मायाको चिनो प्रदान गर्दै आगामी कार्यकालको सफलताको शुभकामना दिएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महत्वपूर्ण हुने भन्दै पाठकले राप्ती गाउँपालिकामा रहँदा गरेको कार्यसम्पादनको चर्चा गरेका थिए। पाठकसँग राप्ती गाउँपालिकामा रहँदा भएका सहकार्य, सञ्चार क्षेत्रसँगको समन्वय तथा स्थानीय प्रशासन र पत्रकारिता बीचको सम्बन्धका विषयमा समेत चर्चा गरिएको थियो । पाठकको सरुवा छिमेकी जिल्ला प्युठानको नौबहिनी गाउँपालिकामा भएको छ ।
मञ्चका अध्यक्ष अर्जुनकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष बलराम शाही ९भिसुन०, महासचिव ओमप्रकाश गुप्ता, कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सहकोषाध्यक्ष लालमणी भुसाल, सदस्यहरू मुक्तिराम पौडेल, मोतीराम भट्टराई, विदुर एमसी र किरण जिसी लगायतको उपस्थिति रहेको थियो।मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए।
यसै बिच राप्ती प्रेस मञ्चको नियमित बैठक सोमबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा सोमबार आफ्नै कार्यालय मसुरियामा बसेको नियमित बैठकले आगामी असोज २६ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ । हिन्दुहरूको महान् पर्व बडा दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
साथै बैठकले राप्ती गाउँपालिका र लुम्बिनी प्रदेश आन्तरिक मामिला, कमनुन, उद्योग तथा यातायात मन्त्रालय सँग बजेट माग गरि पत्रकारिताका विभिन्न विधामा रहेर तालिम सञ्चालन गर्ने निर्णय गर्दै तालिम तयारीका लागि मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको संयोजकत्वमा ५ सदस्य तालिम तयारी समिति गठन गरेको छ । जसका सदस्यहरूमा ओमप्रकाश गुप्ता, लक्ष्मी पोख्रेल, लालमणी भुसाल र विदुर एमसी रहनु भएको छ । त्यस्तै बैठकले हरितालिका तीजको रिपोर्टिङ र संविधान दिवस समारोह मनाउँदा आर्थिक तथा भौतिक सहयोग गर्ने विष्णु बेल्वासे, जीवन दृष्टि पुर्नस्थापना केन्द्र, केशव भुसाल, विष्णुजंग पाण्डे, राजकुमार काैशललाई धन्यवाद दिने निर्णय गरेको छ ।



लाइभदाङ । ५ आश्विन २०८३, सोमबार २२:२५ बजे