दंगीशरण–१ बाकिमा निःशुल्क आँखा शिविर सम्पन्न

दंगीशरण, ५ असोज ।
दंगीशरण गाउँपालिका वडा नं.१ बाकिमा रोटरी क्लब अफ तुलसीपुरको आयोजना तथा दंगीशरण गाउँपालिका वडा नं. १ को समन्वयमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

शिविरमा अस्ट्रेलियन चिकित्सकसहितको विशेषज्ञ टोलीले स्थानीय नागरिकको आँखा परीक्षण तथा उपचार गरेको थियो। शिविरमा आँखा सम्बन्धी समस्या देखिएका नागरिकलाई आवश्यकताअनुसार निःशुल्क औषधि वितरण चस्मा बितरण गर्नुका साथै शल्यक्रियासमेत गरिएको वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले जानकारी दिनुभयो।


वडा अध्यक्ष भण्डारीले ग्रामीण क्षेत्रका नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “आँखा स्वास्थ्यसम्बन्धी समस्या भएका नागरिकले समयमै परीक्षण र उपचार पाउन सकून् भन्ने उद्देश्यले शिविर आयोजना गरेका हौँ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न यस्ता स्वास्थ्य शिविर निकै उपयोगी छन्।”

उहाँले शिविर सञ्चालनमा सहयोग गर्ने रोटरी क्लब अफ तुलसीपुर, अस्ट्रेलियन चिकित्सकसहितको स्वास्थ्य टोली तथा उपचारका लागि सहभागी भएका सम्पूर्ण नागरिकप्रति धन्यवाद व्यक्त गर्नुभयो। साथै आगामी दिनमा पनि वडा तथा पालिकाको समन्वयमा नागरिकको स्वास्थ्यसँग सम्बन्धित यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।शिविरमा ३२१ बढीले प्रत्यक्ष सेवा लिएको वडा अध्यक्ष भण्डारीले जान्कारीदिनुभयो ।