हिराचन्द केसीका वुवा ३ पटक प्रधानपञ्च बने, छोरो राज्यमन्त्री

तुलसीपुर
१४ जेठ / दाङ क्षेत्र नं. ३ बाट निर्वाचित हिराचन्द्र केसी स्वास्थ्य राज्य मन्त्री भएका छन् । आईतबार मन्त्रिपरिषद फेरबदल पछि एकीकृत समाजवादीका केन्द्रीय सदस्य केसी स्वास्थ्य राज्यमन्त्री भएका हुन्।

को हुन्, केसी ?

स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको जन्म २०३२ साल पुस ६ गते सल्यान जिल्लामा भएको हो। बाबा रामबहादुर खत्री र आमा लिलादेवी खत्रीको कोखवाट छैटौं सन्तान तथा जेठो छोराको रुपमा उनको जन्म भएको हो । बाबा रामबहादुर सल्यान जिल्ला थारमारे गाउँ पञ्चायतको ३ पटक प्रधानपञ्च भएकाले उनी पनि सानैदेखि राजनीतिमा सक्रिय भएका थिए । कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मेर २०४८ सालेखि राजनीतिमा प्रवेश गरेका केसी अहिले भने दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका ५ का स्थायी बासिन्दा हुन् ।

अति शालिन र भद्र हिराचन्द्र केसी २०४८ सालमा अनेरास्ववियुमा जोडिदै २०५१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। २०५२ सालमा त्रिभुवन विश्वविद्यालय अन्तरगत दाङ घोराई वहुमुखी क्याम्पस स्ववियु सचिवमा निर्वाचित हुँदै केसी २०५३ सालमा युवा सघं दाङको सह–संयोजकको जिम्मेवारी लिएका थिए।

तत्कालीन राप्ती अञ्चल युवा सघं ईन्चार्ज,मध्य पश्चिम युवा सघं प्रमुख, युवा सघं केन्द्रीय सचिवालय सदस्य, युवासघं केन्द्रीय अनुशासन आयोग अध्यक्ष हुँदै तत्कालीन नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्य समेतको भूमिका सफलताका साथ पूरा गरेका छन् ।


एमाले दाङ जिल्ला सचिवालय सदस्य,क्षेत्रिय कमिटी ईन्चार्ज,आर्थिक विभाग प्रमुख, २०६९ सालमा सगंठन विभाग प्रमुख हुँदै दाङ जिल्ला कमिटी सचिव बनेका मध्यम परिवारमा जन्मिएका केसी पछिल्लो समय माधव नेपाल निकट पार्टीमा सक्रिय छन् । राजनीति शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण हिराचन्द्र केसीको विवाह भने २०५६ सालमा रेखा केसीसगँ भएको हो । उनका १ छोरा र १ छोरी छन्।

पर्ख र हेरको निति अवलम्बन गर्ने केसी २०७४ सालमा दाङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र ३ वाट निर्वाचित भएका हुन् । सानैदेखि खरो स्वभावका धनी उनी नेकपा विभाजन भएपछि नेकपा एमालेमै रहेका थिए । तर केपी वलीले संविधानविपरित ससंदको दुई दुईपटक विघटन गरेपछि केपी वली प्रवृत्तिको आलोचना गर्दै विपक्षमा लागे।

सविधानविपरीत ससंद विघटन गरेसंगै त्यहाँवाट विद्रोह गरेर माधव कुमार नेपालको अध्यक्षतामा एकीकृत समाजवादी पाटी गठन गरि एकीकृत समाजवादी पार्टीमा समाहित भए ।

निष्ठाको राजनीतिमा सक्रिय उनी हाल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य छन् । विभिन्न आन्दोलनका क्रमा अग्रस्थानमा रहेर नेतृत्व गर्ने हिराचन्द्र केसी आन्दोलन र राजनीतिक यात्राको क्रममा धेरै चोटी प्रहरी हिरासतमा समेत परेका छन् ।