नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

प्रमोद आचार्य
तुलसीपुर, १५ कात्तिक।
नेपाली कांग्रेसलाई समयअनुसार रूपान्तरण गर्दै जनताको भावना, आवश्यकता र अपेक्षाअनुसार अघि बढाउनुपर्नेमा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य केशवराज आचार्यले जोड दिनुभएको छ। नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. ३ (क) को आयोजनामा पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद हस्तान्तरण, बधाई तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले तुलसीपुरस्थित नेपाली कांग्रेस बीपी वाचनालयमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले कांग्रेस अब नयाँ सोच, नयाँ दृष्टिकोण र स्पष्ट भिजन तथा मिसनका साथ अघि बढ्नुपर्ने बताउनुभयो।

उहाँले पार्टी सभापति गगन थापाको नेतृत्वमा कांग्रेसले देशको विकास, सुशासन र राजनीतिक रूपान्तरणको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्दै कांग्रेसका शुभेच्छुक तथा कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभयो।कांग्रेस जनताको भावना र आवश्यकतासँग जोडिनुपर्ने उल्लेख गर्दै उहाँले पार्टी अब स्थानीय तहदेखि टोल तथा समुदायसम्मका नागरिकका इच्छा, आकांक्षा र अपेक्षालाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

‘नेपाली कांग्रेस हुँ भन्ने प्रत्येक व्यक्तिले सर्वप्रथम बीपी कोइरालालाई बुझ्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘बीपीको विचार, सिद्धान्त र आदर्शलाई आत्मसात् नगरी कांग्रेसको वास्तविक पहिचान स्थापित हुन सक्दैन।’पार्टीको रूपान्तरण र सुदृढीकरण भाषण र नाराबाट मात्रै सम्भव नहुने भन्दै उहाँले प्रत्येक कांग्रेस नेता तथा कार्यकर्ताले आफ्नो जिम्मेवारी र भूमिकाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो।
कांग्रेसले अघि सारेको शान्ति र विकासको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै जनताको जीवनस्तर परिवर्तन गर्ने दिशामा पार्टी केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले पनि पार्टीलाई थप एकताबद्ध, व्यवस्थित र जनमुखी बनाउन सबै तहका नेता तथा कार्यकर्ताबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा राख्नुभएको थियो।नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. ३ (क) का निवर्तमान सभापति देवेन्द्र रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य केशवराज आचार्यको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति शंकरप्रसाद डाँगीको विशिष्ट आतिथ्यता रहेको थियो।


कार्यक्रममा निवर्तमान प्रदेश प्रतिनिधि मुक्ति प्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा दंगीशरण गाउँपालिका सभापति टेकबहादुर थापा, प्रदेशसभा क्षेत्र नं. ३ (ख) का सभापति शम्भु गिरी, तुलसीपुर नगर सभापति वीरेन्द्र शाह, महाधिवेशन प्रतिनिधि अनिल कार्की, शान्ता पाण्डे, महासमिति सदस्य अर्चना रेग्मी, जितबहादुर केसी र जगत खड्कालगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको संगठन निर्माण, जनतासँगको सम्बन्ध विस्तार र आगामी राजनीतिक यात्रालाई प्रभावकारी बनाउन जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमले पार्टीभित्र नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै संगठनलाई थप गतिशील, एकताबद्ध र जनमुखी बनाउने सन्देश दिएको सहभागीहरूले बताएका थिए।