टरिगाउँबाट बाउजर आजै काठमाडौं लैजाने तयारी

दीपक बोहरा
दाङ
१५साउन / दाङको तुलसीपुर १२ टरिगाउँ स्थित बिमानस्थलमा ल्याईएको बाउजर आजै काठमाडौ लैजाने तयारी गरिएको छ । नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका सूचना अधिकारी सूर्य प्रसाद आचार्यका अनुसार केन्द्रले नै दाङबाट काठमाडौं लगेर त्यहाँबाट रामेछाप लैजानकालागि निर्देशन दिएकाले सोही अनुसार कर्मचारी दाङ आइसकेको बताए ।‘केन्द्रबाट ३/४ जनाको टोली दाङ आएको छ, आजै लैजाने तयारी गरिएको छ’,उनले भने‘अहिले दाङमा काम सुरु नभएको र रामेछाप आबश्यक भएकाले त्यहाँ पठाउन लागिएको भनि केन्द्रले निर्देशन दिएको छ ।’

तर, इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगि सकेको अबस्थामा यहाँबाट बाउजर लैजाने तयारी गरिएको भन्दै यो षडयन्त्र मुलक कार्य भएको राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले बताए । तुलसीपुर १२ निवासी अपारले बाउजर लिन लागेमा पार्टीले जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको समेत बताए ।‘टरिगाउँबाट बाउजर लिन लागिएको भन्ने कुरा आएको छ, यो विषयमा मैले आयल निगमको कार्यालयमा बुझ्दै छु’,तुलसीपुर १२ निवासी अपारले भने‘यदि त्यस्तो हो भने चक्का जाम गरेर भएपनि हामीले लिन दिदैनौं ।’

त्यस्तै सोही वडाका वडाध्यक्ष खुसीराम चौधरीले पनि आफ्नो वडा भित्र रहेको एयरपोर्टबाट बाउजर लैजान लागेको भनि सूचना आएको भन्दै त्यो कुनै पनि हालतमा लैजान नदिने बताए । एयरपोर्टमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको अबस्थामा यसरी बाउजर लैजान खोज्नु यहाँको एयरपोर्टलाई ओझेलमा पार्न खोज्ने षडयन्त्र भएको भन्दै यसमा वडा कार्यालयले गम्भीर तरिकाले लिएको बताए ।


बाउजरले डिपोबाट जहाजसम्म इन्धन ओसारर्ने काम गर्छ । त्यसकालागि जेठ १२ गते तुलसीपुरमा बाउजर ल्याएपछि यस क्षेत्रका नागरिक खुसी भएका थिए । डिपो निर्माणको काम पनि अन्तिम चरणमा रहेकाले दाङ–काठमाडौं हवाई भाडा कम हुने अपेक्षा लिइएको थियो । तर, बाउजर लिने कुराले यस क्षेत्रका नागरिक निराश भएका छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघले पनि यसमा घोर विरोध जनाएको छ । ११ हजार लिटर क्षमताको उक्त बाउजर रामेछापको मन्थली विमानस्थलमा लैजाने तयारी गरेको छ । टरिगाउँ एयरपोर्ट २०११ सालमा स्थापना भएको हो । उक्त विमानस्थलमा अहिले हप्तामा पाँच दिन उडान भर्ने गरेको छ । शनिबार र शुक्रबार बाहेक सबै दिन उडान भर्ने गरेको उक्त विमानस्थलमा ठूला जहाज बस्न नसक्दा यात्रुहरु महंगो भाडा तिर्न बाध्य छन् ।