निर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना

पुनाराम पन्थी
नेपालमा गणतन्त्र स्थापना भए पछि दोश्रो पटक यहि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्बाचन सम्पन्न भएको छ । निर्वाचन पछि गणतन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको नयाँ कार्यकाल सुरु भएको छ । जनताको घर आँगनमा स्थानीय सरकार भन्ने अवधारणा बोकेको स्थानीय तह समाजवादी अभ्यासका लागि पहिलो जग हो । यो अभ्यासलाई सफल पार्न हामी सवै नागरिकको सकारात्मक र रचनात्मक भूमिका रहनु पर्दछ । स्थानीय निर्बाचनबाट निर्वाचित हुनु भएका जनप्रतिधिहरुले जनताको अपार मायाँ र विश्वास प्राप्त गर्नु भएको छ । जनताको मन र अमूल्य मतले विजयी हुने सम्पूर्ण जनप्रतिनिधीहरुलाई नागरिक समाजका तर्फवाट हार्दिक वधाई छ ।

चुनावका वेला पार्टीको प्रतिनिधि भएर लोकतान्त्रिक अभ्यासबाट चुनिएका जनप्रतिनिधिहरु निर्बाचन पछि सवैका साझा हुन्छन । चुनाव जितिसकेको जनप्रतिनिधी कुनै पार्टीको सक्रिय भूमिकामा रहनुहुँदैन । जनप्रतिनिधीले शासक नभै जनताको सेवक बनेर काम गर्नु पर्दछ । जनताको साझा व्यक्तित्व भएकोले असल अविभावकको भूमिकामा रहनु पर्दछ । निर्वाचनका समयमा सार्वजनिक गरेका संकल्पहरुलाई जनताले अनुमोदन गरेर विजयको माला पहिराएका छन । पालिकाको अवस्था वदल्ने जिम्मेवारी र महत्वपूर्ण अवसरका लागि सबै जनप्रतिनिधीज्यूहरुलाई हार्दिक वधाई छ । यो नेतृत्वले नागरिकहरुको दैनिकी सहज हुने गरि काम गर्नु पर्दछ । जनप्रतिनिधीहरुले आफ्नो कार्यकालमा परम्परागत अड्डा जमाउनेमा भन्दा पनि गुणस्तरीय विकासका लागि नविन विधि, प्रणाली र पृथक कार्यशैली अपनाउनु आवश्यक छ । त्यसैले जनताको बीचमा सार्वजनिक गरेका संकल्पहरु पुरा गर्न यो नेतृत्वलाई सफलता प्राप्त होस सवै जनप्रतिनिधीहरुलाई हामी शुभकामना व्यक्त गर्दछौ ।

जनतालाई डोहो¥याउने काममा नेताले नेतृत्व गर्नु पर्दछ । विकास के, किन, कस्तो र कसरी भन्ने कुराको फैसला गर्ने जिम्मा जनतालाई सुम्पिनु पर्दछ । विकास जनताले खोजेको र रोजेको जस्तो हुनु पर्दछ । त्यसका लागि जनप्रतिनिधीले जनतासंग विकासका लागि खुल्ला वहस र अन्तरक्रियाहरु संचालन गर्नु पर्दछ । जनतालाई नै जिम्मेवार वनाउने र जनताले नै स्वामित्व ग्रहण गर्ने गरि सहभागितामूलक तरिकाले विकास गरेमा सामुहिक जवाफदेहिता बढ्ने छ र दीगो विकासको मर्म पुरा गर्न सहयोग पुग्ने छ ।

आगामी पाँच बर्षका लागि स्थानीय तहमा परिपक्क, सवल र सक्षम नेतृत्व आएको छ । हामी चाहन्छौ जनताले अनुभूती गर्ने गरी विकास, सुशासन र समृद्धिको सपना साकार पार्न यो नेतृत्वलाई सफलता प्राप्त होस । निवर्तमान जनप्रतिनिधीहरुले आफ्नो कार्यकालमा अघि वढाएका महत्वपूर्ण काम र अनुभवको जगमा उभिएर काम अगाडी वढाउँदा नयाँ नेतृत्वलाई सजिलो हुने छ । जनताले आदर, सम्मान र मुस्कान सहित दु्रत सेवाको अपेक्षा गरेका छन । जनप्रतिनिधीहरुले जनताका आकाँक्षाहरुको सम्वोधन गर्न सक्नु पर्दछ । जनकेन्द्रित विकास अवधारणालाई नेतृत्वले व्यवहारमै अवलम्वन गर्नु पर्दछ । विकास जनताको अधिकार हो सरकारको जिम्मेवारी हो तर विकास नेता वा दलको अनुकम्पा होईन । नेता र जनताले आफ्नो अधिकार, कर्तव्य र भूमिकालाई विर्सनु हुँदैन ।

जनप्रतिनिधीहरु अब एउटा दलको प्रतिनिधि होईन साझा जनप्रतिनिधिको भूमिकामा रहेर सेवाग्राहीलाई छिटो र छरितो सेवा दिनुपर्दछ । दलिय संक्रिणता, आग्रह र पूर्बाग्रहबाट माथी उठेर स्थानीय तहको भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विकासका लागि सहभागिमूलक विकास पद्धति अनुसार सबै सरोकारवालाहरुसंग हातेमालो गरेर अघि वढेमा योजना निर्माण र कार्यान्वयन प्रक्रिया सहज र सफल हुने छ । स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा काम गर्नु जनप्रतिनिधीहरुको दायित्व हो । समुदायको विकासको स्वामित्व समुदायले नै लिने र समुदाय नै स्वयं जवाफदेही हुने विकास प्रक्रियाले मात्र संचालित गतिविधिहरु समुदायमैत्री, दीगो र प्रभावकारी हुने छन । विधिको शासन, पारदर्शिता,जवाफदेहीता र सहभागिता जस्ता सुशासन स्थापनाका महत्वपूर्ण पक्षहरुलाई व्यवहारमा उतार्न सकेको खण्डमा आम जनसमुदायबाट सहयोग, स्वामित्व, सहभागिता र समर्थन प्राप्त गर्न सकिने छ ।


राज्य पुर्नसंरचना भई स्थानीय तहले जनप्रतिनिधिहरु पाए पछि जनताले विकासको अनुभुति गर्न थालेका छन आगामी पाँच वर्ष भित्र नेतृत्वले गर्नु पर्ने कार्यविवरण निर्वाचनका समयमा सार्वजनिक गरेका प्रतिवद्धता पत्रमा स्पष्ट र प्रयाप्त छन । गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, यातायात, भरपर्दो संचार सुविधा, कृषिजन्य र पशुपंक्षीजन्य उत्पादनमा बृद्धि, उद्यमशिलता विकास, युवाहरु विदेश पलायन, वाल विवाह, जीविकोपार्जन सुधार, मानविय चेतना अभिबृद्धि, प्रकोप पूर्वतयारी, जलवायु परिवर्तको प्रभाव, जाति र लिंङ्ग भेद लगायत जनसरोकारका जल्दावल्दा सवालहरुको सम्वोधन गर्न यो नेतृत्व सफल रहनु पर्दछ । ठूला र अनुत्पादक योजना भन्दा संविधानका मौलिक हकले प्रत्याभूत गरेको अधिकारमा आधारित उत्पादनमूलक, रोजगारमूलक र वातावरणमैत्री विकास आजको पहिलो आवश्यकता हो । अव ठूला र अमूर्त नाराबाट होईन, साना साना कामबाट पनि जनतालाई सुविधा दिन सकिन्छ । यो नेतृत्वले परम्परागत विकास प्रक्रियामा केही नविन सोँच, शैली र संस्कार वसाल्नु पर्ने समय आएको छ । जनप्रतिनिधीले भिजन देख्ने, रणनीति बनाउने, लक्ष र उद्देश्य पुरा गर्न रोडम्याप तयार गर्ने र समृद्ध पालिका निर्माणका लागि समन्वयकारी भूमिका खेल्नु पर्दछ ।

सामाजिक विकासको क्षेत्रमा कार्यरत संस्थाहरुले सरकारले अघि वढाएका समृद्धिका सपनाहरु पुरा गर्नका लागि विकास साझेदारको रुपमा योगदान गर्दै आएका छन । विपन्न गाउँ र वस्तीहरुमा समूह निर्माण गरेर सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका लागि सचेतनामूलक कार्यक्रमहरु संचालन गरेर सामाजिक जागरणद्धारा समुदायको समग्र विकास अभियानलाई अघि वढाईरहेको कुरा सबैलाई विदितै छ । नमूना पालिका निर्माण गर्नका लागि नयाँ नेतृत्वलाई निरन्तर साथ दिने र रचनात्मक सहयोग गर्ने कुरामा सामाजिक संस्थाहरु प्रतिवद्ध छौ । रचनात्मक कामका लागि नागरिक समाजका तर्फबाट स्थानीय संस्था र संगठनहरुले यो नेतृत्वलाई सकरात्मक खवरदारी पनि गरिरहने छौ । समाज रुपान्तरणका क्षेत्रमा काम गरिरहेका सामाजिक संस्थाहरुसंग विशिष्ट खालका अभ्यास र अनुभवहरु छन । सामाजिक संस्थाहरुले आफ्नो विज्ञता अनुसार पालिकाको समृद्धिका लागि ठूलो योगदान दिईरहेका छन । विगतको अधिकाँस स्थानीय नेतृत्वहरुले सामाजिक संस्थाका प्रयत्नहरुलाई आफ्ना कार्यक्रमसंग जोड्ने सकेनन । यो नेतृत्वले सामाजिक संस्थाहरुको अनुभव र विज्ञतालाई कदर गर्न सकोस । राम्रो काम गर्ने संस्थाहरुलाई चिन्ने, बुझने र हेर्ने दृष्टिकोण केही फराकिलो गराउनु आवश्यक छ । सामाजिक संस्थाहरुले साझा सरोकारका सवालहरुमा स्थानीय सरकारसंग समन्वय, सहकार्य र साझेदारीका लागि उपयुक्त वातावरणको खोजी गरिरहेका छन । भनाईमा मात्र हैन सामाजिक संस्थाहरुलाई विकास साझेदारको रुपमा स्वीकार गरेर समृद्धिको रोडम्याप निर्माण र कार्यान्वयनमा सहभागी गराउनु पर्दछ ।

जनताको सेवामा समर्पित भएर काम गर्ने प्रतिनिधिलाई मात्र जनताले पुन : रोज्ने, खोज्ने र निर्वाचित गर्ने गरेका छन । जनकेन्द्रित विकासका लागि स्थानीय आवश्यकतामा आधारित योजना निर्माण र दु्रत कार्यान्वयनमा यो नेतृत्व रहोस । उपलव्ध श्रोत र साधनको अधिकतम प्रयोग गर्दै आगामी पाँच बर्ष भित्र सुशासन, विकास र समृद्धिका सबै सपनाहरु साकार हुन । यो नेतृत्वले असल काम गरेर अझ धेरै जनविश्वास प्राप्त गर्न सफल रहोस भन्दै स्थानीय तहमा निर्बाचित हुनु भएका सम्पूर्ण जनप्रतिनिधीहरुलाई असल, कुशल र सफल कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना । साभारः अग्रिम साप्ताहिक

May be an image of 1 person and text