
दाङको तुलसीपुरस्थित गुम्ह्राचोक क्षेत्र पछिल्लो समय सवारी दुर्घटनाको एउटा भयावह केन्द्र बन्दै गएको छ । शुक्रबार बिहान साढे १० बजेतिर दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तुलसीपुर–१४ का ३३ वर्षीय कमलेस चौधरीको मृत्यु भयो । सोही दुर्घटनामा दुई जना शिक्षक दाजुभाइ बसन्त र विवेक बस्नेत घाइते भए । यो कुनै संयोग मात्र होइन, किनकि यसअघि गत साउन २१ गते मात्रै सोही क्षेत्रमा २१ वर्षीया कल्पना केसी डाँगीले पनि ज्यान गुमाएकी थिइन् ।
यस स्थानमा केही दिनभित्रै तीनवटा दुर्घटना भइसकेका छन्, जसले सडक सुरक्षाको गम्भीर प्रश्न खडा गरेको छ । स्थानीय बासिन्दाका अनुसार यो सडक खण्डमा डिभाइडरको अभाव हुनु नै दुर्घटनाको प्रमुख कारण हो । सडकमा डिभाइडर नहुँदा सवारी साधनहरू अव्यवस्थित रूपमा गुड्ने गरेका छन्, जसका कारण विपरीत दिशाबाट आउने सवारी साधनहरू आपसमा ठोक्किने उच्च जोखिम रहन्छ । शुक्रबारको दुर्घटना पनि विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल आपसमा ठोक्किँदा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
छोटो समयको अन्तरालमा एउटै ठाउँमा भएका यी दुर्घटनाहरूले सडक पूर्वाधारको कमजोरीलाई स्पष्ट पार्छन् । बारम्बार दुर्घटना भइरहँदा र मानवीय क्षति भइरहँदा पनि सम्बन्धित निकायले सडक सुरक्षाका उपायहरू जस्तै डिभाइडर राख्ने, ट्राफिक संकेतहरू सुधार गर्ने वा गति नियन्त्रणमा चासो नदेखाउनु विडम्बनापूर्ण छ । सोही सडक संघीय सरकार मातहत छ । त्यसले गर्दा पनि स्थानीय वा प्रदेश सरकारले चासो दिइरहेका छैनन् । जहाँ धेरै दुर्घटना हुने क्षेत्र मध्ये सोही ठाउँ एक हो ।
अतः गुम्ह्राचोकलाई ‘मृत्युपासो’ बन्नबाट जोगाउन तत्कालै उचित सडक व्यवस्थापन र डिभाइडरको व्यवस्था गर्न आवश्यक छ । एउटा व्यस्त सडकमा नागरिकको ज्यान गइरहनु र प्रशासन मूकदर्शक बन्नु किमार्थ स्वीकार्य हुन सक्दैन । थप मानवीय क्षति हुनुअघि नै यो अव्यवस्थित सडक खण्डलाई सुरक्षित बनाउनेतर्फ सम्बन्धित सबैको ध्यान जानु जरुरी छ ।



लाइभदाङ । ४ भाद्र २०८३, बिहीबार ०७:२७ बजे