‘चाकडी’ गर्नेहरुको पछि दौडने जनप्रतिनिधिहरु

दाङमा नयाँ सीडियो आएभने उनले एक महिना काम गर्न पाउँदैनन् । यहाँका ब्यापारी होस्, या अन्य जुनसुकै संस्थाहरुले उनीहरुको चाकडी गर्छन्, स्वागतका नाममा ठाउँ–ठाउँमा बोलाउछन्, दलबलसहित कार्यक्रममा सहभागि हुन्छन्, अनि त्यहाँ स्वागत गर्नेहरुले प्रसंशा बर्सिन्छन् । सीडीओ पनि के कम उनले पनि थाहा पाए जति प्रशंसै गर्छन्, अनि उनीहरुबीच कार्यगत एकता सुरु हुन्छ । जसले स्वागत सम्मानका नाममा टिका,अबिर घसाउछ, जसले रेडिमेट मालाहरु पहिराउछ, उ नजिक बन्छ । प्रहरी प्रमुख आउँदा पनि त्यस्तै स्वागत हुन्छ । तर, मालपोतका हाकिम, नापीका हाकिम, कारागारका हाकिम आए–गएको केही थाहा हुँदैन् । यसले पनि के पुष्टि हुन्छ भने–जहाँ शक्ति सञ्चय हुन्छ, त्यहाँ चाकडी हुन्छ । यो प्रबृति दाङमा पनि लामो समयदेखि चल्दै आएको छ, यसले सम्बन्धित निकायका ब्यक्तीको दैनिक प्रदान गर्ने सेवामा बाधा पुग्दै आउने गरेको हुन्छ । यता सम्मान थाप्न ब्यस्त हुँदा उता सेवाग्राहीहरु सेवा लिन कुरिरहेका हुन्छन् । यसरी समयलाई स्वागत सम्मानमा बेथित गर्दा जनताले निकै दुःख पाइरहेका थुप्रै उदाहरणहरु छन् ।

अहिले जनप्रतिनिधिहरुलाई पनि यसरी नै सम्मान भ्याई नभ्याई छ । स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भइसकेपछि दैनिक ४÷५ वटा कार्यक्रममा सहभागि हुने गर्छन् । उता नागरिक लाईनमा बसिरहेका हुन्छन् । एउटा हस्ताक्षर गराउन घण्टौ कुर्नुपर्ने अबस्था छ । जनप्रतिनिधि जुन कार्यक्रममा हुन्छन्, त्यही कार्यक्रममा पुगेर हस्ताक्षर गराएर ल्याउनु पर्ने अबस्था पनि छ । जो की स्थानीय सरकार भनेको जनतालाई घर आँगणबाट सहजै सेवा गर्ने जिम्मेवारी लिएर आएका सरकार हुन् । संघीयताको मोडेल त्यही हो । तर, हिजोआज वडा–वडाबाट सहज सेवा पाउन सकेको अबस्था छैन् । जनप्रतिनिधि आफू अनुकूल दौडिन्छन्, वडामै जनप्रतिनिधि भेट्न गाह्रो पर्छ, जसले गर्दा जनतालाई सास्ती हुने गरेको छ ।


अहिले जति स्वागत सम्मान कार्यक्रम भइरहेका छन्, यी सबै स्वार्थ समूहले गरिरहेका कार्यक्रम हुन् । यो कुरा जनप्रतिनिधिहरुले स्पस्ट रुपमा बुझ्न आबश्यक छ । जो मतदाता तथा साधारण जनता स्वागत गर्ने पहुँचमा हुदैनन् । जो न्यून आयस्तर भएका नागरिक छन्, उनीहरुले स्वागत सम्मानमा खासै ध्यान दिदैनन्, र उनीहरुको त्यो खालको हैसियत पनि हुँदैन । तर, जो स्वार्थमा तिप्त छ, त्यस्ता ब्यक्तीहरु स्वागत सम्मानमा अगाडी पुग्छन् । नैतिकताका हिसाबले पनि स्वागत गरेको ब्यक्तीलाई जनप्रतिनिधिले हेर्ने दृष्टिकोण सामान्य नागरिक भन्दा बढि फरक नै हुन्छ । जसले स्वागत गरेको थियो, त्यसका काम अलि छिटो अगाडी बढ्लान्, कसैलाई त ठेक्का पट्टामै सहयोग गर्नुपर्ला । यस्ता नैतिक बाध्यताहरु आईपर्छन्, त्यसैले सकेसम्म सामाजिक पदधारण गरिसकेपछि यस्ता कार्यक्रमहरुमा त्यति चासो नदिदा नै जनप्रतिनिधिहरुको स्वच्छ छबि कायम रहला, अन्यथा अझै पनि सर्वहारा वर्गको सेवा भन्दा पनि पुजिपति बर्गको इशारामा सत्ता सञ्चालन हुँदैन्, भन्ने कुरा शंका नगर्नु पर्ने कुनै कारण रहदैन । साभारः अग्रिम साप्ताहिक

May be an image of 2 people