अंगराज परियार
सानै देखी बाआमाको इच्छा छोरो मास्टर बनोस् भन्ने थियो । म सानोमा छँदा गाउँघरमा शिक्षकलाई खुबै मान गरिन्थ्यो । अहिले पनि म मेरा गुरु र गुरुआमाप्रति उतिकै श्रद्धा गर्दछु । शिक्षक भन्ने बितिकै समाजमा पढेलेखेका सबै कुरामा निपुण व्याक्तिको रूपमा हेर्ने चलन अहिले पनि छ । शिक्षक समाजसँग निकट भएकाले त्यस्तो दृष्टिकोणबाट हेर्नू स्वभाविक नै मान्न सकिन्छ ।
आज भन्दा झन्डै तीस वर्ष अघि शिक्षकप्रतिको दृष्टिकोण कस्तो थियो होला ? त्यतिबेला तराईतिर हालको मधेस प्रदेशका सर्लाही , सप्तरी र सिराहा जिल्लाबाट कर्णाली चिसापानीबाट सुर्खेतको कुइने, गुटु , जङ्गलघाट हुँदै हटारु हिड्ने बाटो करिब चारदिनको कठिन यात्रा गर्दै गुरुहरु अछाम पुग्नु हुन्थ्यो । मेरो घरमा एकजना सप्तरी जिल्लाका चौधरी थरका गुरु बस्नु हुन्थ्यो । मैले क ख रा देखी प्राथमिक तहको शिक्षा उहाँबाट प्राप्त गरेको थिए ।
उहाँले कतिपटक चिउरा र कर्णालीको पानी खाएर हिडेको तितो अनुभव सुनाउनु हुन्थ्यो । त्यो बेलाको कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र सेतीका बझाङ, बाजुरा र अछामको शिक्षाको अवस्था कस्तो थियो होला ? म कल्पना पनि गर्न सक्दैन । म पनि शिक्षक बनेर दुर्गम गाउँमा पुग्ने त्यहाँका बालबालिकालाई शिक्षाको सुनौलो घामबाट ज्ञानको नयाँ किरण थप्ने उत्प्रेरणाका स्रोत आदरणीय गुरु कमल देब चौधरीलाई शिर निहुराएर नमन गर्न चाहान्छु ।
मेरो गुरुको उत्प्रेणा शिक्षक बन्ने म भित्रको हुटहुटीले मैले त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायबाट नेपाली विषयमा स्नातकोत्तर पास गरे । आफू अध्ययन गर्दै गर्दा सहरतिर संस्थागत विद्यालय र निजि कलेजमा अध्यापन गरे मलाई सहरतिर बसेर अध्यापन गर्नु भन्दापनि नेपालका दुर्गम जिल्ला कर्णालीका जुम्ला , हुम्ला , मुगु , डोल्पा र सुदुरपश्चिमका अछाम , बझाङ र बाजुरा जिल्लामा शिक्षक बनेर काम गर्ने अवसरको खोजिमा थिए ।
कुरा वि.स २०७७ सालको हो त्यसैबेला कर्णाली प्रदेश मुगु जिल्ला मुगुमकार्मारिङ गाउँपालिकाको श्री बुद्ध नमुना माध्यमिक विद्यालयमा साबिक उमावि र हालको माध्यमिक तह नेपाली विषयमा कक्षा ११ र १२ को अनुदान कोटामा विज्ञापन भएको मेरा एकजना साथीले जानकारी गर्नु भयो । मलाई के खोज्छ कानु आँखा भने जस्तै भयो । त्यतिबेला विश्वभर कोरनाका कारणले जनजीवन प्रभावित थियो ।
एक ठाउँबाट अर्को ठाउँ जानका लागि हिडडुल र सवार प्रतिबन्ध नै थियो । मैले आफ्ना शैक्षिक योग्यताका प्रमाणपत्र विद्यालयको मेल र प्रधानाध्यापकको मेल दुबै ठाउँमा पठाए । वर्षादका कारण मेरा लागि मुगु पुग्न त्यति सहज थिएन् । अर्को समस्या कोरना कारणले नेपाल सरकारले एक ठाउँबाट अर्को ठाउँ जान प्रतिबद्ध नै लगाएको थियो । यति अत्यावश्यक कामका लागि जानुपर्ने भए जिल्ला प्रशासनको पास बनाउनु चाहिँन्थ्यो । मैले पनि जिल्ला प्रशासन अछामबाट मुगु जानका लागि पास बनाए ।
यातायात बन्द भएकाले मेरो दाइको छोरो र म मोटरसाइकलको यात्रा साउन सत्र गते बिहान ६ बजे मुगुको लागि हिड्यौ । अछामको विनायकबाट मध्यपहाडी राजमार्ग तेह्र किमि छिचोल्दै बेलखेत कर्णाली नदिको बेलिबृज तरेर कर्णाली राजमार्ग जोडियौँ । मुगु जानेबाटो र भूगोलको बारे अनभिज्ञ थियौ । सिमसिम झरी हिलाम्मे कर्णाली राजमार्ग कष्टकर यात्रा आज सम्झदा आङ नै सिरिङ हुन्छ । कर्णाली राजमार्गलाई अहिले पनि मृत्यु राजमार्गका रुपमा चित्रत गरिन्छ्न् । हामी दैलेख र कालिकोटको सिमाना नपुग्दै दहिखोलामा ठूलो पहिरोमा झन्डै सात घन्टा रोकियौँ । डोजरले बाटो पन्छ्याउदै गर्दा पहिरो रोकिएको थिएन ।
सडक विभाग र सुरक्षाकर्मीको अथक प्रयासले मान्छे हिड्न मिल्ने बाटो बन्यो । हामी भन्दा अघि दुईओटा मोटरसाइकल पार गरिसकेकोले मोटरसाइकल पार गर्दैगर्दा झन्डै पहिरोले पुरेन बल्लतल्ल अन्य मानिसको सहयोगले पहिरो पार गरियो । मोटरसाइकल धकेल्दा हिलो छ्यापेर मान्छे नचिन्ने अवस्थामा पुगेको रहेछु । मनमा झन डर लाग्न थाल्यो अझै कति पहिरो र खोलानाला पार गर्नु पर्ने हो । सोचेर एक पटक मन आत्तियो ! हिमा र तिला नदी मिसिएर बनेको शेरिघाट तरेर माथी सर्प सिढी जस्तै बाटो चढेर कालिकोटको सदरमुकाम मान्मा बजार पुग्दा चार बजिसकेको थियो बल्ल केही नास्ता गर्यौँ । त्यतिबेला दिउँसोको साढेचार भएको थियो । झरी बन्द हुने छाँट्काट थिएन । पिलि बजार हुँदै साढे सातमा नाग्मबार पुगियो । घरबाट हिडेदेखी केही संचार सम्पर्क गरेको थिएन । फोन गरौँ भनेर मोबाइल अन गर्दा त्यहाँ नेटवर्क नै थिएन । बासबसेको होटलमा सोधेपछी थाहा पाएँ त्यहाँ नेटवर्क काम नगर्ने रहेछ । अब घरमा फोन सम्पर्कका लागि कुनै अन्य माध्यम नै थिएन ।
मुगुको सदरमुकाम गमगढी पुग्न झन्डै तिरानब्बे किमि बाँकी थियो । अबको बाटो कच्ची छ भन्ने थाहा भएर भोलिको यात्रा बारे विभिन्न कल्पनाहरु आए रातभर निद्रा लागेन । बिहान उठ्दा हिमा र तिला नदीले आफ्नो रुप परिवर्तन गरेर कालोनिलो थिए मन झन आत्तियो । बिहान साढे छ बजे नै उठेर हिमानदीको तिरै तिर सिजा तिर लाग्यौँ । नाग्म बजारबाट हिँडेको केही समयमै एउटा खोला भेटियो पानीको बेग नहेरी मोटरसाइकल पार गर्न खोज्दा झन्डै हिमा नदीमा पुगिएन । स्थानीय मान्छेको सहयोगले खोला मोटरसाइकल तारे एकछिन खोलाको छेउमा थचक्क बसे दुर्गममा काम गर्न त्यति सजिलो रहेन्छ ।
बाटो फराकिलो भएपनि असाध्यै चिप्लो भएकोले मोटरसाइकल कहिल्यै बाटोको छेउ कहिले भित्तामा जोतिन्थ्यो । बल्लतल्ल जुम्ला मुगुको सिमाना भुलभुले हुँदै पिना पुगयौँ । त्यहाँ सम्म जेनतेन पुगेपनि अगाडि जानका लागि सडकमा पहिरोले अबरुद्ध थियो । एक मनले फर्कनु पर्छ भन्थ्यो अर्को मनले जानै पर्छ । लगभग नब्बे प्रतिशत बाटो हिडिसकेकोले फर्किन मन लागेन ।
मोटरसाइकल एउटा घरमा राखेर झण्डै तेह्र किमि पैदल यात्रा गरेर साँझ मुगु जिल्लाको सदरमुकाम गमगढी पुगियो । मोटरसाइकलको यात्रा पैदल यात्राको थकानले खाना खाइसके बितिकै भुसुक्कै निदाए । एकदिन पछि परीक्षा पनि भयो । म परिक्षामा सफल भए । बर्खा भएकाले विद्यालयसम्म पुग्नका लागि एक्काईस किमि पैदल यात्रा हिड्नु पर्थ्यो ।
लाइभदाङ । १७ आश्विन २०८०, बुधबार १२:३७ बजे