बर्दियामा प्रहरीको गोली लागेर एकको मृत्यु

बर्दियामा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नं २ बस्ने १८ वर्षीया नविना थारूको प्रहरीको गोलीबाट मुत्यु भएको हो ।

बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको हो । टाउकोमा गोली लागेको थारूको उपचारको लागि गुलरिया ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारूलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयहरूले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरेका गरेका थिए । स्थानीयले गुलरिया राजापुर सडक खण्डको ओराली बजारमा सडक बन्द खुलाउनका लागि गरेपछि प्रहरी परिचालन गरिएको थियो ।

केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरू सडक आन्दोलनमा उत्रिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए । खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ ।