पत्रकार महासंघ दाङ शाखाका ८५ जना सदस्यको मात्रै सदस्यता नवीकरण गरिने

दाङ, १९ जेठ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको बैठक बिहीबार सम्पन्न भएको छ । पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकमा नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिले निर्धारण गरेको ‘पत्रकार महासङ्घको सदस्यता शुद्धिकरण मापदण्ड २०७९’ अनुसार दाङ शाखाको सदस्यता शुद्धिकरणका लागि सिफारिस गर्न गठित समितिले पेश गरेको प्रतिवेदन पारित भएको छ ।

शाखा उपाध्यक्ष सन्तोष सुवेदीको संयोजकत्वमा सहसचिव दशरथ घिमिरे र सदस्य उदय बीसी सदस्य रहेको समितिले पेश गरेको प्रतिवेदन अनुसार नवीकरण गर्न मिल्ने र नमिल्ने सदस्यहरूको टुंगो लगाइएको छ । महासंघ दाङ शाखामा रहेका २ सय ७५ सदस्यमध्ये मापदण्ड अनुसार हाल ८५ जना सदस्यको मात्रै नवीकरण गर्ने निर्णय गरिएको छ । पत्रकारितामा क्रियाशील नरहेका, स्वेच्छिक त्याग गरेका र मापदण्ड अनुसार नवीकरण गर्न नमिल्ने अवस्थाका ११८ जना सदस्यहरूको नवीकरण नगर्ने निर्णय भएको छ ।

त्यसैगरी सदस्यता शुद्धिकरण सिफारिस समितिले पत्रकारितामा क्रियाशील रहेका तर मापदण्ड अनुसार नवीकरण गर्न नमिल्ने अवस्थाका ८१ जना सदस्यका सम्बन्धमा थप छलफल गर्न आवश्यक देखिएकाले महासङ्घको प्रदेश र केन्द्रीय समितिमा पठाउन समितिले सुझाव दिएका कारण उक्त सुझावलाई सोही अनुसार पठाउने निर्णय भएको छ ।


बैठकले महासङ्घका संस्थापक र शाखाका पूर्व अध्यक्षहरूलाई उनीहरूको चाहना अनुसार मानार्थ सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै दाङ शाखामा सदस्य रहेका तर हाल अन्य जिल्लामा क्रियाशील रहेका सदस्यको हकमा कार्यरत जिल्लामै सदस्यता स्थानान्तरण गर्न अनुरोध गर्ने निर्णय समेत भएको छ ।