तुलसीपुरमा दमकल प्रकरणः दुइपटक टेन्डर गर्दा पनि रित पु¥याएर आवेदन परेन

तुलसीपुर, १४ कार्तिक ।
तुलसीपुर उपमहानगरपालिकामा दमकल खरिदका लागि आवश्यक बजेट विनियोजन भइसके तापनि कानुनी प्रक्रिया र ठेक्का स्वीकृत हुन नसक्दा नयाँ दमकल आउन ढिलाइ भएको छ। उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले बजेटको अभावले नभई प्राविधिक तथा खरिद प्रक्रियाका कारण दमकल खरिदमा ढिलाइ भएको स्पष्ट पारेका छन् ।

हालै उपमहानगरपालिकाको सम्पत्तिमा आगजनी गरी करिब २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याइएको घटना र दमकल समयमा नपुगेको विषयमा उठेका प्रश्नहरूबारे स्पष्ट पार्दै नगर प्रमुख खड्काले सो जानकारी दिए ।


नगर प्रमुख खड्काका अनुसार उपमहानगरपालिकाले नयाँ दमकल खरिदका लागि १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरी सार्वजनिक खरिदको आह्वान गरिसकेको छ। यसअघि दुई पटकसम्म टेन्डर (ठेक्का) सूचना आह्वान गर्दा पनि रीतपूर्वक ठेक्का सदर हुन नसकेको र अहिले तेस्रो पटक सूचना जारी गरिएको उनले बताए ।

यसैगरी, दमकल खरिद तथा व्यवस्थापनका लागि उपमहानगरपालिकाको तर्फबाट गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँलाई समेत पटक-पटक अनुरोध गरी पत्राचार गरिएको तर हालसम्म त्यसको ठोस सुनुवाइ नभएको नगर प्रमुख खड्काले जनाउनुभएको छ।

सार्वजनिक सम्पत्तिको रक्षा गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उहाँले अन्तिम पटक आह्वान गरिएको ठेक्का प्रक्रिया सफल भई छिट्टै नयाँ दमकल खरिद हुने आशा व्यक्त गरे ।