समाज सुधार अभियानले बालकको उद्धार गरी परिवारको जिम्मा लगायो

तुलसीपुर, १४ कात्तिक ।
दाङ तुलसीपुरको बसपार्कमा सञ्चालित समाज सुधार तथा सुरक्षा अभियानले सल्यानका एक १४ वर्षीय बालकको उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ। अभियानले चलाउँदै आएको नियमित रात्रि निरीक्षण (गस्ती)का क्रममा गत कात्तिक १२ गते (बुधबार) राती पौने ९ बजेतिर बसपार्क क्षेत्रमा एक बालक बोरा ओढेर सुतिरहेको अवस्थामा फेला परेका थिए। खोजतलास र सोधपुछ गर्दा ती बालक सल्यानको सारदा नगरपालिका वडा नं. १० मदाना निवासी निमे गिरिका १४ वर्षीय छोरा सोमराज गिरि भएको खुलेको थियो।

अभियानको टोलीले बालकलाई सडकबाट तत्काल उद्धार गरी बसपार्क प्रहरी बिटसँग आवश्यक समन्वय गरेर सुरक्षित बासस्थान तथा संरक्षणका लागि मानव सेवा आश्रमको जिम्मा लगाएको अभियानका संयोजक विरेन्द्र विकले बताए ।


अभियानको यसै पहलका कारण दोस्रो दिन (बिहीबार) बालकका बुवा निमे गिरि सम्पर्कमा आएका हुन्। अभिभावक सम्पर्कमा आएपछि आवश्यक कानुनी तथा संस्थागत प्रक्रिया पूरा गरी सोमराजलाई उनकै बुवाको जिम्मा लगाएर घर पठाइएको छ।

सडक तथा सार्वजनिक स्थलहरूमा कोही पनि असहाय, बालबालिका तथा जोखिममा परेका व्यक्तिहरू नछुटुन् भन्ने उद्देश्यका साथ समाज सुधार तथा सुरक्षा अभियानले नियमित रूपमा निरीक्षण र उद्धार कार्यलाई तीव्रता दिँदै आएको छ।