
दीपक बोहरा
दाङ, १४ कात्तिक ।
दाङमा उत्पादन भएको अण्डा अब देशभर नै पुग्ने भएको छ । नेपाल लेयर्स कुखुरा पालक संघ दाङ र नेपाल एग ट्रेडिङ प्रालीको सहकार्यमा दाङको तुलसीपुरमा शुक्रबार डिपो सञ्चालनमा आएको छ । सोही डिपो मार्फत किसानहरुले उत्पादन गरेको अण्डा देशैभर जाने भएको हो ।
जिल्लामा उत्पादन भएको अण्डालाई देशभर सहज ढंगले उपलब्ध गराउनकालागि यसरी डिपो सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष राजेन्द्र लामिछानेले बताए । अहिले पनि किसानले लागत मूल्य समेत नपाईरहेको भन्दै एकद्वार प्रणालीबाट अण्डा खरिद गरेर देशभर नै आपूर्ति गर्नकालागि यसरी डिपो सञ्चालन गरिएको उनको भनाई छ ।
एउटा अण्डाको लागत मूल्य १९ रुपैँया १२ पैसा पर्न जान्छ, तर, किसानले विक्री गर्दा त्यो भन्दा पनि न्यून मूल्यमा विक्री गर्नुपर्ने अबस्था हरेको भन्दै एकद्वार प्रणालीबाट विक्री गरेमा लागत मूल्य पनि उठ्ने संघका केन्द्रीय अध्यक्ष विनोद पोख्रेलले बताए । उनका अनुसार जिल्लामा किसानले विक्री गरेर बाँकी रहेको अण्डालाई डिपो मार्फत देशैभर निर्यात हुनेछ ।
दाङमा हाल दैनिक दुईहजार पाँच सय कार्टुन अण्डा उत्पादन हुने गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघ दाङका अध्यक्ष ईश्वर प्रकाश श्रेष्ठका अनुसार त्यो मध्ये २० प्रतिशत मात्रै जिल्लामा खपत हुने गरेको छ । अरु सबै अण्डा बाहिरी जिल्ला निर्यात हुने गरेको छ ।
हाल दाङमा लेयर्स कुखुराको संख्या नौ लाख भन्दा बढी पुगेको छ । संघमा एकसय ५० भन्दा बढि किसानहरु जोडिएको सचिब रविन्द्र विक्रम केसीले बताए।



लाइभदाङ । १५ कार्तिक २०८३, शनिबार २२:०८ बजे