सुशील बस्नेत
दाङ,२२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले वृक्षारोपण,गोडमेल र सरसफाई गरेको छ । तुलसीपुर उपमहानगरपालिका रझेनी स्थीत बृद्धासेवा समिति परिसरमा यसअघि रोपिएका बिरुवालाई गोडमेल र परिसर सरसफाई गरिएको हो । २०७६ मंसिर २७ र २८ गते दाङको तुलसीपुरमा सम्पन्न भएको मानव अधिकार तथा शान्ति समाजको २२ औं राष्ट्रिय परिषद् बैठकका बखत साप्ताहीक कार्यक्रम अन्तर्गत उक्त स्थानमा श्रीखण्ड,कपुर,निम,अमला लगायत ५० बढि बिरुवा रोपिएका थिए । ती बिरुवालाई गोडमेल गर्दै आएको शान्ति समाजले यसपटक वातावरण दिवसको अवसरमा पून : सरसफाई तथा गोडमेल गरेको हो ।
दिवसकै अवसरमा यसपालि मेवा,आप लगायतका बिरुवा समेत रोपिएका छन् । बिरुवा रोपण,गोडमेल र सरसफाई कार्यक्रम पछि वातावरण दिवसकै सन्र्दभमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले स्वच्छ वातावरण आम नागरिकको मौलिक अधिकार भएको बताउनुभयो । यसका लागि ब्यक्ति स्वयम सेचत भई वातावरण संरक्षणमा जुट्न आह्वान समेत गर्नुभयो ।
सरसफाई अभियान्ता बिमल रिजालले वातावरण संरक्षणका लागि हरियाली आवश्यकको बताउनुभयो । त्यसका लागि अक्सीजन बढी उत्पादन गर्ने बिरुवा र ओखतीजन्य बिरुवा रोप्नुपर्ने बताउनुभयो । कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपाली,तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे,शान्ति समाजका पूर्व केन्द्रिय उपसभापति मोहन धिताल,बृद्ध सेवा समिति जेष्ठ नागरिक समाजका उपाध्यक्ष गोपाल प्रसाद उपाध्याय लगायतले आ आफ्ना बिचार राख्नुभएको थियो । शान्ति समाज दाङका सभापति तुलसीराम सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिब निर्मला डिसीले गर्नुभएको थियो ।
लाइभदाङ । २२ जेष्ठ २०७९, आईतवार ११:०३ बजे