
तुल बहादुर कवँर मगर
मसुरिया, २५ बैशाख।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकोटमा सञ्चालित बाँसबाट विभिन्न सामग्री उत्पादन सम्बन्धी १५ दिने स्तरोन्नती सीप विकास तालिम बिहीबार सम्पन्न भएको छ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तरगत स्थानीय स्रोतसाधनको प्रयोग गरी गाउँमै उद्यमी उत्पादन गर्ने उद्देश्यले सो तालिम सम्पन्न भएको हो। तालिममा बाँसको फोटो फ्रेम, प्रमाणपत्र फ्रेम पेन कप,फुलदानी, मन्दिर लगायतका अन्य विभिन्न सामग्रीहरू निर्माण गर्न सिकाइएको थियो।
वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरीको अध्यक्षता तथा पालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामना सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले सहभागीहरूलाई सिप सिक्ने मात्रै नभएर टिक्ने र बिक्ने पनि हुनुपर्ने धारणा राख्नुभयो। उहाँले सिपलाई व्यवसायसँग जोड्न सक्ने हो भने यसले रोजगारी सिर्जना मात्र होइन, आर्थिक रूपान्तरणमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो। साथै, स्थानीय स्रोतको भरपूर उपयोग गरी आत्मनिर्भर गाउँपालिका निर्माण गर्न सकिने उल्लेख गर्नुभयो।
कार्यक्रममा वडा अध्यक्ष देवप्रसाद चौधरीले सिकेको सिपलाई व्यवहारमा उतार्न सके मात्रै त्यसको सार्थकता हुने बताउनुभयो। उहाँले यस्ता तालिमहरूले सहभागीहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।



कार्यक्रममा करङ्गेकोट टोल विकास संस्थाका अध्यक्ष गिरबहादुर थापा मगर, प्रशिक्षक तुलबहादुर केसी, सहभागी कृष्णबहादुर पुजाली लगायतले आ–आफ्नो भनाइहरू राख्नुभएको थियो। तालिममा २० जना महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो।
उनीहरूलाई गत वर्ष पनि बाँसकै कुर्सी, मुढा लगायतका सामग्रीहरू निर्माण गर्ने तालिम प्रदान गरिएको थियो। समापन कार्यक्रमको सहजीकरण उद्यम विकास शाखा प्रमुख विनिता चौधरीले गर्नुभएको थियो।
लाइभदाङ । २५ बैशाख २०८२, बिहीबार २०:१९ बजे