दाङका शीर्ष नेताद्वारा मतदान

दाङ
३० वैशाख / दाङमा शीर्ष नेताहरुले मतदान गरेका छन् । आज विहान ७ बजेदेखि जिल्लाका सबै मतदान केन्द्रमा मतदान सुरु भएको हो । सोही अनुसार एमाले महासचिब शंकर पोखरेलले तुलसीुपर उपमहानगरपालिका वडा नं.१९ स्थित जनता विद्यापीठ विजौरीबाट मतदान गरेका हुन् ।

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले घोराही १८ स्थित आधारभूत विद्यालय मसिनाबाट मतदान गरेकी छिन्, भने काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले दंगीशरण गाउँपालिका वडा नं. ४ स्थित रात्री मावि बैबाङबाट मतदान गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले तुलसीपुर १२ स्थित पशुपति मावि हरीपौराबाट मतदान गरेका छन्, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले तुलसीपुर अरनीको मैदान(तुलसीपुर बोर्डिङ) बाट मतदान गर्नेछन् ।


एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको वडामा भने आज मतदान हुन सकेन् । एमालेबाट वडा सदस्यका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि त्यहाँ आज हुने भनेको मतदान बैशाख ३ गते मात्रै हुनेछ । ज्ञवालीको तुलसीपुर १७ दिपेन्द्र मावी मानपुरमा मतदान केन्द्र छ । दाङमा विहान ८ बजेसम्मको मौसम भने सफा रहेको छ । दाङमा १५३ मतदान केन्द्र रहेका छन्, भने ४६१ मतदान स्थल रहेका छन् । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार दाङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

दाङमा २५ सय भन्दा बढि कर्मचारी र ३ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै दाङ भारतीय सीमाना पनि जोडिएकाले सीमा क्षेत्र समेत सिल गरिएको छ । जिल्लामा पुरुष मतदाताको संख्या दुई लाख आठ सय एक र महिला मतदाताको संख्या दुई लाख नौं हजार ९९ जना रहेका छन् । कुल मतदाता संख्या चार लाख ९९ हजार दुई जना रहेको छ ।