रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु

भैरहवा, २२ जेठ ।

भैरहवा–परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी खोलामा यात्रुवाहक बस दुर्घटनाग्रस्त हुँदा नौ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको बस पुलबाट खोलामा खसेको हो ।


आज (आइतबार) बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा बसमा सवार नौ जना मृत्यु भएको र २३ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । उपचारको क्रममा पाँच जनाको भैरहवास्थित मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भैरहवाका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो ।

चालक निदाएका कारण बसले रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेको प्रहरीको अनुमान छ । घाइतेहरूको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको पौडेलले जानकारी दिनुभयो । रोहिणी पुलबाट पटक–पटक सवारीहरु खोलामा खस्ने गरेका छन् । तीनवटा जेसीभीको प्रयोग गरेर दुर्घटनामा परेको बसलाई सुल्टो बनाएर यात्रुको उद्धार गरिएको केसीको भनाइ छ ।