दाङमा रासायनिक मलको अभाब

दाङ, २० जेठ ।

दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतिपातिको समय नजिकिदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानहरुलाई बर्षेनी सास्ती हुने गरेको छ । धानको विउकालागि ब्याड राख्नु पर्ने र मकैमा पनि मल आबश्यक पर्ने भएपनि अहिले मल अभाब हुँदा समस्या हुने गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का किसान यज्ञ बहादुर चौधरीले बताउनुभयो । “गएको वर्ष पनि समयमै मन नपाए पछि युरीया मलबिना मकै गोडेका हौं, मलबिना धान रोप्यौ”,उहाँले भन्नुभयो“ यस बर्ष पनि समस्या त्यस्तै छ ।” मल पाउने आशामा किसानहरु दैनिक सहकारी संस्थामा धाउने गरेका छन् । मल अभावका कारण समयमै खेतिपाति गर्न नपाएमा उत्पादन पनि घट्ने किसानहरुको चिन्ता रहेको छ ।

किसानको माग अनुसार रासायनिक मल उपलब्ध गराउन नसकेकोे कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तिर्थराज न्यौपानेले बताउनुभयो । आलोपालो गरेर सहकारी मार्फत रासायनिक मल वितरण गर्दै आएको भएपनि अझै अभाब रहेको उहाँले बताउनुभयो । नेपालमा बार्षिक ८ लाख मेट्रिक टन रासायनिक मल आवश्यकता पर्ने भए पनि वार्षिक ३ देखि ४ लाख मेट्रिक टन मात्रै रासायनिक मल आयात हुने भएकाले पनि यस्तो समस्या आउने उहाँले बताउनुभयो ।


न्यौपानेका अनुसार दाङमा मात्रै सबैबालिको लागि वार्षिक युरीया १५ हजार मेट्रिक टन र डीएपी १० हजार मेट्रिक टन आवश्यक पर्छ । कोभिड पछि अन्तराष्ट्रिय बजारमा रासायनिक मलको मूल्य तीनसय देखि साढे तीनसय प्रतिशतले बृद्धि भएको बताउँदै न्यौपानेले मल खरिदका लागि यो वर्ष कृर्षी सामाग्री कम्पनी लिमिटेडले ८ वटा अन्तराष्ट्रिय स्तरका ग्लोवल टेण्डरहरु नपरेकोले पनि समस्या भएको जानकारी दिनुभयो । अहिले नेपाल सरकारले ५० हजार मेट्रिक टन मल आयातको लागि टेण्डर गरेकाले असार महिना भित्र मल प्राप्त हुने अपेक्षा गरिएको छ । टेण्डर नपरेपनि सरकारले भारतबाट (जिटुजी) अन्तरगत मल आयात गर्ने सहमती भएकोले धान खेतीको समयमा मलको हाहाकार नहुने बताउनुभयो

दाङका लागि कृर्षी ज्ञान केन्द्रले ४९७ मेट्रिक टन मल उपलब्ध गराएको थियो । दाङका तीन वटा कृर्षी सामाग्री कम्पनीबाट ती मलहरु वितरण गरिन्छ । कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका लागि २२६ मेट्रिक टन डीएपी मल आवश्यक पर्नेमा ५०/६० टन मात्रै आउन बाँकी रहेको प्रमुख न्यौपानेले बताउनुभयो । कृषि सामग्री लिमिटेड तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका, शाान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाहरुसंग समन्वय गरेर वितरण गरिरहेको छ ।

त्यस्तै अहिले दाङ डीएपी मल केही मात्रामा पाईए पनि युरीया मल भने जिल्ला मै नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुर शाखा प्रमुख तिर्थराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार अहिलेको अवस्थामा दाङलगायत देशैभरी युरीया मलको अभाव छ । तर साल्टट्रेनिङ कर्पोरेशनबाट युरीया र डीएपी मल ल्याउने प्रक्रिया भईरहेको उहाँले बताउनुभयो । असारको पहिलो सातासम्म साल्टबाट मल आउन सक्ने उहाँले बताउनुभयो ।