तुलसीपुर–सल्यान सडकको पहिरो हटाउन जेसीवीको व्यबस्था गरिने

सल्यान
२६ साउन / राप्ती लोकमार्ग अन्तरगत वर्षायाममा पटक पटक बन्द भइरहने कपुरकोट–तुलसीपुर सडक खण्डको अवरोध हटाउन चौविसै घण्टा जेसीबीको ब्यवस्था गरिने भएको छ । मंगलबारर सल्यानको कपुरकोट गाउँपालिकामा बसेको बैठकले सडकको अवरोध हटाउनका यस्तो निर्णय गरेको हो । कपुरकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालय सल्यान, सडक डिभिजन कार्यालय दाङ तथा सल्यान जिल्लाका सुरक्षा निकाय सहितको बैठकमा राप्ती लोकमार्गको समस्या समाधान कसरि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको अध्यक्षता तथा सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाको विशेष उपस्थितिमा बसेको बैठकले वर्षातको कारण सडक अवरुद्ध भइरहने समस्या भएकाले अवरोध हटाउन सडक डिभिजन कार्यालय दाङले चौँविसै घण्टा एउटा जेसीविको ब्यवस्था गर्ने निर्णय भएको कपुरकोटका प्रमुख प्रशासकीय अधिकृत मोेहन खड्काले बताए ।


गाउँपालिका अध्यक्ष सेनले सल्यान दाङ सडकमा यात्रा गर्नेहरुले लामो समयदेखी सास्ती भोगिरहहेको तथा स्थानीय सरकारले दोष खेपिरहनुपरेको भन्दै सडक स्तरोन्नतीका लागि विशेष महत्वका साथ अगाडी बढ्न सडक डिभिजन कार्यालयलाई आग्रह गरे । सडक डिभिजन कार्यालय दाङका प्रमुख सिनियर डिभिजन ईन्जिनियर निरज शाख्यले आफ्नो कार्यालयले सडक फराकिलो बनाउने तथा स्तर उन्नती गर्नका लागि आवश्यक बजेटको ब्यवस्था संगै निर्माण कार्य अगाडी बढाउने, मर्मत गर्ने तथा दाङ सल्यान सडक खण्डको पूर्ण रुपमा स्तरोन्नतीका लागि लागत स्टमेट तयार गरेर बजेट माग गरी पठाएको जानकारी गराए । तथापी सडक निर्माणको क्रममा विभिन्न समस्या उत्पन्न हुने गरेको उनको भनाइ थियो । देखापर्ने समस्यालाई समाधानका लागि आवश्यक पहल गर्ने जनाउदै प्रमुख जिल्ला अधिकारी खतिवडाले सडकमा सहज तरिकाले सवारिसाधन आवागमन र सडक सुचारु गर्नका लागि अन्य आवश्यकीय व्यवस्था गर्न सडक डिभिजन कार्यालयलाई अनुरोध गरिन् ।

बैठक अघि टोलीले कपुरकोट देखी चोरखोला सम्मको क्षेत्रको अनुगमन समेत गरेको थियो । प्रमुख जिल्ला अधिकारी खतिवडा, गाउँपालिका अध्यक्ष सेन सहित प्रमुख सेनानी कञ्चन कृष्ण बस्नेत, सल्यान जिल्लाका प्रहरी प्रमुख गोविन्द थापा, कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का, पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी लगायत अनुगमन गरेका थिए ।