तुलसीपुर उपमहानगरपालिकामा कडा प्रतिस्पर्धाः १९३५४ मत गन्दा १११ मतान्तर

दीपक बोहरा
दाङ,६ जेठ ।

दाङ तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडाप्रतिस्पर्धा देखिएको छ । १९३५४ मत गन्दा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरी १११ मत अगाडी छन् ।

गिरीले ७९९९ मत ल्याएका छन्, भने एमालेका उम्मेदवार टिकाराम खड्काले ७८८८ मत ल्याएका छन् । अहिले तुलसीपुरका ३ वटा वडाको मतगणना कार्य भइरहेको छ, भने ४ वटा वडाको नतिजा आईसकेको छ । जसमा १ र ४ माओवादी केन्द्रले जितेको छ, भने ५ नम्बर वडा काँग्रेस र २ नम्बर वडा एमाले जितेको छ ।

अहिलेसम्म वडा नं. १ मा गठबन्धनको तर्फका उम्मेदवार माओवादी केन्द्रका हुमकान्त सापकोटा, २ नम्बरबाट एमालेका उम्मेदवार भिमबहादुर योगी, वडा नं. ४ बाट माओवादी केन्द्रका तुलसी थापा र वडा नं.५ बाट काँग्रेसका बीरेन्द्र शाह विजयी भएका छन् ।


मेयरमा वडा नं. १ र ४ बाट गठबन्धन अग्रता लिएको छ भने २ र ३ वाट एमालले लिएको छ । त्यस्तै ५ बाट काँग्रेसले अग्रता लिएको छ भने ६ बाट एमालेले अग्रता लिइरहेको छ । वडा नं. ७ को मतगणना जारी छ ।

उपमेयरमा भने सुरुवातदेखि नै एमाले अग्रस्थानमा छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले ७३३२ मत प्राप्त गरेर अग्रस्थानमा छन्, भने गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर राणाले ६१८९ मत ल्याएका छन् ।

तुलसीपुरमा यस अघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हाँसिल गरेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४हजार ३३६ जनाले मतदान गरेका थिए ।