शान्तिनगर गाउँपालिकामा काँग्रेस बिजयीः माओवादीले गुमायो, एमालेले थप्यो

दीपक बोहरा
दाङ,३ जेठ ।

दाङको शान्तिनगर गाउँपालिकामा काँग्रेस विजयी भएको छ । काँग्रेसका प्रमोद बस्नेतले ५७१६ मत प्राप्त गरेर विजयी भएका थिए, भने एमालेका विष्णु केसीले ४५२४ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तरण ११९२ हो ।

त्यस्तै उपाध्यक्षमा काँग्रेसका प्रेमा बुढाथोकीले ५७५० मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका कमला भण्डारीले ४०२८मत प्राप्त गरेकी छन् । उनीहरुबीचको मतान्तर १७२२ हो ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार मोहन वलीले २७९४ मत ल्याएका थिए, भने उपाध्यक्ष राधिका परियारले ३०८० मत प्राप्त गरेकी छन् । यस अघि पनि शान्तिनगरमा काँग्रेसले नै जितेको थियो । शान्तिनगरमा २० हजार ८ सय ६३ मध्ये १४ हजार ८ सय १ मत खसेको थियो ।


वडामा एमालेले थप्यो सिट
२०७४ सालको स्थानीय तहको निर्वाचनमा शान्तिनगर गाउँपालिकामा एमालेले एउटा मात्रै वडा जितेको थियो । भने माओवादीले ३ वटा र काँग्रेसले ३ वटा वडा जितेको थियो । तर, यस पटक एमालेले एउटा वडा थप्न सफल भयो । एमालले वडा नं.४ र ६ जित्न सफल भयो । यस अघिको निर्वाचनमा पनि एमालेले ४ नम्बर वडा जितेको थियो, भने काँग्रेसले जितेको ६ नम्बर वडा पनि जित्न सफल भएको छ ।

त्यस्तै काँग्रेसले अहिले वडा नं. ३, ५ र ७ नम्बर वडा जित्न सफल भएको छ । ३ नम्बर यस अघि काँग्रेसले ने जितेको थियो , भने वडा नं. ५ र ७ लाई माओवादी केन्द्रबाट खोस्न सफल भएको छ । तर, काँग्रेसले यस अघि जितेको २ नम्बर वडा आफ्नो हातमा ल्याउन सकेन । उक्त वडा स्वतन्त्रका सुनिल वली जित्न सफल भए । उनी काँग्रेसमा आबद्ध भएपनि पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाब लडेका थिए । सोही वडा काँग्रेसका जिल्ला सभापति शंकर डाँगी, निवर्तमान गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको वडा हो ।

माओवादीले वडा नं. १ जितेको र सोही वडामा पुरानै वडाध्यक्ष जंगबहादुर पुन निर्वाचित भए । अहिले माओवादीले दुईवटा वडा गुमाउनु प¥यो ।