दाङमा खसीको मूल्य कति ?

दाङ
१६ असोज / दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी रु १५ र बोकाको खरिद मूल्यमा रु ४५ ले वृद्धि गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।

उनका अनुसार २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य रु ५६५ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० निर्धारण गरेको छ । त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको खरिद मूल्य प्रतिकेजी रु ५४५ निर्धारण गरिएको खसीबोका खरिद समिति जनाएको छ ।

गत वर्ष किसानबाट ज्यूँदो खसी २० देखि २५ केजीसम्मको रु ५५० र त्योभन्दा माथिकोलाई प्रतिकेजी रु ५३५ का दरले खरिद मूल्य निर्धारण गरिएको थियो । त्यसैगरी अघिल्लो वर्ष बोका १८ केजीभन्दा माथिको प्रतिकेजी रु ५५० का दरले कम्पनीले खरिद गरेको थियो ।


कम्पनीले गत वर्ष दशैँमा ८०१ वटा खसीबोका काठमाडौँ पठाएको थियो । यो वर्षको दशैँ तिहारका लागि एक हजार र ६०० वटा खसीबोका पठाउन लिखित रुपमा पत्राचार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिए ।

दशैँ तिहारका लागि यहाँबाट एक हजार खसी बोका खरिद गरि काठमाडौँ पठाइने छ । पहिलो चरणमा ६०० दोस्रो चरणमा बाँकी खसीबोका खरिद गरेर पठाउने तयारी रहेको उनको भनाइ थियो । खसीबोका यही असोज २२ गते काठमाडौँ पुग्ने गरी पठाउने तयारी भएको छ ।