तेलियाका अग्नि पीडितलाई राहत प्रदान

प्रिया स्मृती गजमेर,

 लमही, १४ बैशाख । लमही नगरपालिका-९ तेलियाका अग्नि पीडितलाई लमही नगरपालिकाले राहत प्रदान गरेको छ । नगर प्रमुख जोगराज चौधरी, नगर उपप्रमुख लक्ष्मी योगी, वडा नमब्र ९ का वडा अध्यक्ष भेष बहादुर केसी, रेडक्रस लमहीका सभापति थानेश्वर गैरे र विपत व्यवस्थापन शाखा प्रमुख गायत्री थापाको टोली आज शुक्रबार तेलिया पुगेर राहतका सामाग्री प्रदान गरेको हो ।

लमही नगरपालिकाबाट दुई घरका लागि पचास किलो चामल, ४ किलो दाल, ४ लिटर खाने तेल, २ किलो नुन, २ जार खानेपानी, ३ वटा सिरक, डसना, तकिया, १० वटा थाल, १० वटा कचौरा, ६ वटा गिलास, रेडक्रस लमहीबाट त्रिपाल, झुल, पानी राख्ने बाल्टिन, भाँडावर्तन, लगाउने कपडा, साबुन, सरफ़, ब्रुष मन्जन, तबेल लगायतका सामाग्री प्रदान गरिएको विपत व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिईन ।

बुधबार लमही नगरपालिका-९ तेलियाका राम बहादुर कुमाल र उनका छोरा गणेश कुमालको घर नजिकै जंगलमा लागेको आगोको लप्काले घर जलेको थियो । घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा, लगायत घरायसी समान जलेर नष्ट भएका थिए । म बालबालिकालाई भर्ना गर्न विद्यालय गएको थिए, घरमा कोहि थिएनन त्यहि समयमा घरमा आगो लागेछ, पछि घरमा आगो सल्किसकेपछी मलाई गाउँबाट फोन गरेर बल्ल थाह पाए’- पीडित राम बहादुर कुमालले बताए । म घरमा आइपुग्दा सम्म घरमा भएका सबै सामान जलेर नष्ट भैसकेका थिए कुमालले भने ।


आगलागीबाट कक्षा कक्षा २ मा अध्ययनरत बालबालिकाका कापी किताब समेत जलेका छन् । कक्षा २ मा अध्ययनरत अनुष्का कुमाल र कक्षा १ मा अध्ययनरत श्रेया कुमाललाई किताब प्रदान गर्ने प्राथमिक विद्यालय भ्युसनपुरका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले बताउनु भयो ।

गर्मीयाम बढेसंगै आगजनीका घटना बढ्दै गएकाले सबै सचेत रहनु पर्ने नगर प्रमुख जोगराज चौधरीले बताए । सलाई, लाइटर जस्ता ज्वलनशील वस्तु बालबालिकाले नभेट्ने गरेर राख्नु पर्ने, वन जंगलमा आगो नलगाउने यदि लगाएको भेटीए प्रहरीलाई जानकारी गराउन समेत सबैमा आग्रह गरे ।

त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले सानो कमजोरीले ठुला ठुला समस्या निम्तिने भन्दै आगो जस्तो कुरामा सबै संवेदनशील हुनु पर्ने बताईन । एकैछिनको गल्तीले जीवनभर पछुताउने हुन्छ त्यसकारण सबैले आफ्नो जिम्मेवारीको बोध हुने काम गर्नु पर्छ’- उनले भनिन।

केहि दिन अगाडी लमही नगरपालिका-९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको थियो भने तीन घर जलेर नष्ट भएका थिए । घरमा आगो लागिरहेका बेला घर भित्रका सामान लिन गएका स्थानीय वीर बहादुर बोटको जलेर मृत्यु भएको थियो ।