दीपक बोहरा
दाङ,२ जेठ ।
दाङको राजपुर गाउँपालिकामा काँग्रेसले विजयी हाँसिल गरेको छ । अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा काँग्रेसका शरद बुढाथोकीले ३९८० मत प्राप्त गरि विजयी भएका हुन्, भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका चक्रबहादुर खड्काले ३१६७ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर ८१३ हो ।
त्यस्तै उपाध्यक्षमा काँग्रेसकै धनपतिदेवी यादवले ३८३७ मत प्राप्त गरि विजयी भएकी हुन्, भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रकी पुष्पा यादवले ३३४८ मत प्राप्त गरेकी थिईन् । उनीहरुबीचको मतान्तर ४८८ रहेको छ । धनपति दोस्रो पटक गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् । २०७४ सालमा पनि उनी गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएर कार्यकाल पूरा गरिसकेकी छिन् ।
त्यस्तै एमालेका अध्यक्षका उम्मेदवार कुलराज गिरीले २९२२ र उपाध्यक्षका उम्मेदवार सीता यादवले २९०७ मत प्राप्त गरेकी थिइन । उक्त गाउँपालिकामा १५ हजार ७ सय २३ मत रहेपनि ११ हजार ७ सय ४१ मात्रै मत खसेको छ ।
वडामा माओवादी धेरै
वडामा भने माओवादी अगाडी छ । ७ वटा वडा रहेको राजपुरमा माओवादी केन्द्रले तीन तथा काँग्रेस र एमालेले २/२ वडामा विजयी हाँसिल गरेका छन् । काँग्रेसले २०७४ को निर्वाचनमा ४ वटा वडा जितेको भएपनि अहिले दुई वडा गुमाएको छ ।
त्यतिबेलाको निर्वाचनमा पनि माओवादी केन्द्रले ३ वटा वडा जित्न सफल भएको थियो । वडा नं. १,२ र ६ मा जितेको माओवादीले अहिले ६ बाहेक पहिलेका वडा गुमाएपनि नयाँ वडा नं. ३ र ७ मा जित्न सफल भएको छ । नयाँ दुबै वडा यस अघिको निर्वाचनमा काँग्रेसले जितेको थियो । वडा नं. ६ मा माओवादी केन्द्रका श्याम बहादुर रोका दोहोरिएका छन् ।
त्यस्तै काँग्रेसले वडा नं. २ र ४ जित्न सफल भएको छ । ४ मा यस अघि कै अध्यक्ष रामेश्वर अहिर दोहोरिएका छन्, भने २ मा ओमप्रकाश यादवले जितेका छन् । सोही वडामा यस अघिका वडाध्यक्ष माओवादी केन्द्रका दुर्गाप्रसाद शर्मा पनि चुनाबी मैदानमा थिए । तर, शर्माले चुनाब हारे ।
एमालेले भने यो निर्वाचनमा २ वटा वडा जित्न सफल भएको छ । २०७४ को चुनाबमा एमालेले राजपुरमा कुनै पनि वडा जित्न सकेको थिएन । अहिले राजपुरको १ र ५ नम्बर वडा जितेको छ । यस अघि १ मा माओवादी केन्द्रले जितेको थियो भने ५ मा काँग्रेसले जितेको थियो । ५ नम्बर वडामा यस अघिका अध्यक्ष काँग्रेसका नरेन्द्र सिंह भण्डारी दोहोरिन खोजेपनि हार व्यहोरे ।
लाइभदाङ । २ जेष्ठ २०७९, सोमबार १५:०९ बजे