राप्ती प्रादेशिक अस्पतालका डायोलाईसिस एक बर्ष पछि जोडिए

दीपक बोहरा
तुलसीपुर,२ साउन । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गएको बर्ष साउनमा ल्याईएका डायोलाईसिस मेसिन एक बर्षपछि जडान गरिएको छ । अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ वटा मेसिन पठाएका थियो । तर, जडानलाई आबश्यक पर्ने रकम, ठाउँ अभाब र जनशक्ति नभएको भन्दै ति मेसिन जडान हुन सकेका थिएनन् ।

पछिल्लो समय लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य निर्देशनालयले जडानकालागि आबश्यक पर्ने २५ लाख रकम, १० जना स्टाफ नर्स र दुईजना कार्यालय सहयोगी पठाएसंगै मेसिन जडान भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालले बताए ।“प्रदेश स्वास्थ्य मन्त्रालयले मेसिन जडानकालागि बजेट पनि सुनिश्चितता गर्‍यो, आबश्यक जनशक्ति पनि पठायो”,उनले भने “हामीले यता स्पेश पनि तयार गर्‍यौं र मेसिन पनि जडान भयो ।”

यस अघि अस्पतालमा आएका मेसिन जडान नभएपछि चौतर्फी विरोध पनि भएको थियो । अस्पतालमा आएका तीन वटा मेसिन बाँके लगिएको थियो । ति मेसिनहरु पनि फिर्ता आएका छन् । मेसिन जडान भएसंगै विरामीलाई सेवा दिन सहज भएको छ । अस्पतालमा नयाँ ८ वटा मेसिन जडानसंगै अब १३ वटा डायोलाईसिस मेसिन जडान भएका छन् ।

यस अघि पाँच वटा मेसिन मध्ये चारवटा मेसिनले मात्रै डायोलाइसिस हुँदै आएको थियो । एउटा मेसिन बिग्रिएको थियो । हाल १२ वटा मेसिनबाट डायोलाइसिस भइरहेको अस्पतालका निमित्त मेसु डा. अर्यालले बताए । यस अघि २२ जना विरामीलाई नियमित डायोलाइसिस भइरहेकोमा हाल ४२ जनालाई डायोलाइसिस हुने गरेको उनले बताए । कोहीलाई हप्तामा ३ पटकसम्म डायोलाइसिस गर्ने गरिएको छ ।


अस्पतालमा डायोलाइसिस मेसिन सञ्चालनमा आएसंगै विरामीलाई पनि सहज भएको छ । सल्यान दार्माका धनबहादुर सार्कीले यस अघि लमहीमा डायोलाइसिस गराउँदै आएका थिए । त्यसको केही समयमा घोराही गराए । तुलसीपुरमा डायोलाइसिस गराउनकालागि ११ महिना अघि मात्रै नाम टिपाए । नयाँ मेसिन जडान भएपछि उनले अहिले तुलसीपुरबाटै डायोलाइसिस गराउँदै आएका छन् ।

“पहिले मैले लमही, घोराहीमा डायोलाइसिस गराउँदै आएको थिएँ”,उनले भने “तर, अहिले तुलसीपुरमै पाएपछि सहज भएको छ ।” मन्त्रालयले पठाएका १० जना नर्सिङ र दुई जना कार्यालय सहयोगी र पहिले भएका ४ जना नर्सिङ र एक जना कार्यालय सहयोगीले डायोलाइसिसमा काम गरिरहेका छन् ।

भिडियो रिपाेर्टः