वुवाको मृत्यु पछि छोरालाई टिकेट : ‘समाजसेवा गर्दागर्दै वुवाको निधन भयो, अब वुवाको सपना म पूरा गर्छु’

दीपक बोहरा
दाङ,२८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का एमोलेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि एमालेले उनका छोरालाई टिकेट दिएको छ । २८ बर्षीय कान्छा छोरा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको हो । चौधरीले बुधबार दिउसो साढे १२ बजेतिर उम्मेदवारी दर्ता गराएका हुन् ।

तुलसीपुर उपमहानगरपालिकाका मेयर तथा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे, एमाले दाङका अध्यक्ष हुकुम बस्नेतसहित पार्टीका नेता तथा कार्यकर्ताहरुसहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता पछि उनले सञ्चारकर्मीहरुसंग प्रतिक्रिया दिदै आफूले वुवाको सपना पूरा गर्ने बताए ।‘वुवाले आफ्नो रोग लुकाएर भएपनि जनताको सेवामा खटिनु भयो’,उनले भने‘अहिले पार्टीले मलाई वुवाको सपना पूरा गर्ने जिम्मेवारी दिएको छ, मैले वुवाको सपना पूरा गर्नेछु ।’

वुवाले सधै जनताको सेवामा खटिने गरेको बताए । यस अघि पनि लवरु सोही वडाको वडाध्यक्ष निर्वाचित भएका थिए । वुवा आगामी चुनाबी मैदानकै क्रममा विरामी पर्दा पनि आफू नियमित वुवाको भोट माग्न खटिरहेकाले पनि पार्टीले आफूलाई टिकेट दिएको उनी बताउछन् । लबरुवा दुईभाई छोरा छन् ।

उनी भन्दा अघि दाई प्रकाश चौधरी छन् । वुवा अवरुले टिकेट पाएपछि केही दिन मात्रै प्रचारमा हिड्न पाए । त्यसपछि विरामी भएका उनलाई तुलसीपुरमा सामान्य उपचार पछि कोहलपुर रेफर भयो । कोहलपुरमा उपचार पछि केही दिन सञ्चो भएको थियो । तर, पुनः विरामीले सताएपछि उपचारको क्रममा काठमाडौं टिचिङ अस्पताल लगिएको थियो । टिचिङ अस्पताल लगेको दुई दिन सोमबार राति लवरुको मृत्यु भएको हो ।लवरुको उपचारको क्रममा पनि कान्छो छोरा प्रदिप सहभागी भएर चुनाब प्रचारप्रसारको काम भइरहेको थियो ।

प्रदिप वुवाको राजनीतिमा सहयोग गर्दै आएका थिए । आफू राजनीतिमा सक्रिय नभएपनि वुवालाई सघाउँदै आएको उनी बताउछन् । उनले दुधरास स्थित जनकल्यान माविबाट प्रमाणपत्र तह पूरा गरेका छन् । उनी पढाईसंगसंगै खेति किसानी पनि गर्दै आएका थिए । तर, उनले जीवनमा राजनीति गर्छु भन्ने कहिल्यै कल्पना नगरेको बताउछन् ।‘मैले जीवनमा राजनीति गर्छु, भन्ने सोँचेको थिएन’,उनले भने ।


लवरुको चौधरी समुदायको परम्परा अनुसार मंगलबार राति दाहसंस्कार गरिएको छ । चौधरी समुदायमा विहीबार र सोमबार सुद्धशान्ति गर्ने चलन छ । यो विहीबार सुद्धशान्ति गर्ने समय नहुँने भएकाले सोमबार मात्रै शुद्धशान्ति हुनेछ । जेठ २ गते सोमबार पर्ने भएकाले त्यही दिन शुद्धशान्ति हुने र कान्छो छोरा प्रदिपले त्यही दिन मात्रै कपाल खौरिनेछन् । जेठो छोरा प्रकाशले भने काजकिरिया गरिरहेका छन् । घरको जेठो छोरोले नै काजकिरिया गर्ने चौधरी समुदायको परम्परा रहेको छ । चौधरी समुदायमा सुद्धशान्तिसम्मकालागि तेल,बेसार छोड्ने चलन छ ।

३ गते मतदान
वडाध्यक्षका उम्मेदवार चौधरीको मृत्यु भएपछि बुधबार १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार भोलि बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

सोही वडाको हकमा बैशाख ३१ गतेदेखि मौन अबधी सुरु हुने छ, भने बैशाख ३१ गते राति १२ बजेसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । वडा नं. १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।