दाङमा ५ दिनदेखि आतंक मच्चाएको भैंसी नियन्त्रणमा

दाङ, १७ साउन ।
घोराही उपमहानगरपालिका–१८ रजनाबाट भागिदिनभर आतंक मच्चाएको एउटा आक्रामक भैंसी ५ दिनपछि आइतबार साँझ नियन्त्रणमा आएको छ। मासु पसलका लागि बिक्री गर्न ल्याइएको उक्त भैंसी खोरमा हुल्ने क्रममा फुत्किएर भागेको थियो।

स्थानीय नरेन्द्र केसीका अनुसार सुरुका ३ दिन नजिकैको बाँसघारीमा लुकेर बसेको भैंसी शनिबार एक्कासि बस्तीतिर छिरेको थियो। बस्तीमा पुगेलगत्तै भैंसीले अम्बापुर र नवलपुर क्षेत्रमा मर्निङ वाकमा निस्किएका सर्वसाधारणलाई आक्रमण गर्न थालेको थियो। भैंसीको सिङ र ठक्करबाट शनिबार र आइतबार गरी कुल ७ जना घाइते भएका छन्।


भैंसी अत्यधिक आक्रामक बनेपछि स्थानीयवासी र प्रहरीलाई नियन्त्रणमा लिन निकै सकस परेको थियो। नवलपुर क्षेत्रमा करिब ४ घण्टासम्म पछाडि धाउँदा पनि समात्न नसकिएको भैंसी आइतबार बेलुकीपख स्थानीयको एक गोठमा पसेपछि मात्रै समात्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार स्थानीय र प्रहरी टोलीको निरन्तरको संयुक्त प्रयासपछि आइतबार साँझ मात्र भैंसीलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सकिएको छ।