रैथाने खाना प्रर्बदन: एउटा भाडोमा ढिक्री,अर्कोमा खिचडी

दीपक बोहरा
तुलसीपुर, १ माघ ।
एउटा भाडोमा ढिक्री, अर्को भाडोमा खिचडी । त्यसमाथि लसुनको अचार, साधेको मासु, सिन्की र भटमासको झोलले खानालाई झनै मिठो बनाएको थियो । सहभागिहरु खसीको खुट्टाको झोल,आलु, भाङ्गोको अचार, काचो मेवाको अचार र मोहीमा उत्तिकै मोहित थिए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलसहित सहभागीहरु यी खानामा रमाइरहनु भएको थियो । यस्ता खाना बजारमा विरलै पाईन्छन् । ढिक्री थारु समुदायले बिशेष पर्वमा मात्रै तयार गर्छन् । माघी, अट्वारीजस्ता चाडपर्वमा थारु समुदायले बनाउने ढिक्री स्वास्थ्यका हिसाबले पनि उत्तम मानिन्छ । त्यस्तै पहाडी क्षेत्रमा बढि चलेको खिचडी हो । तर, पछिल्लो समय मानिशहरु खिचडी खान छोडे ।

खिचडी पकाएर खाने ‘एका देशको कथा’ जस्तै बन्न थाल्यो । त्यसैले यस्ता खानालाई प्रबद्र्धन गर्न माघीको अवसरमा तुलसीपुरमा रैथाने खाना कार्यक्रम गरियो । सहभागि सबैलाई निःशुल्क रुपमा यी खानाहरु खुवाइयो । तुलसीपुर होटेल ब्यबसायी समितिले यी खानाहरुलाई प्रबद्र्धन गर्नकालागि यो अभियान अगाडी बढाएको छ । अब होटलहरुमा रैथाने खाना पनि पाउने ब्यबस्था मिलाउने तयारी रहेको समितिका महासचिब तुफान केसीले बताउनुभयो ।“ हाम्रा रैथाने खानाहरु लोप हुन थालेका छन्”,उहाँले भन्नुभयो“खानालाई पर्यटन, प्रबद्र्धनसंग जोड्न सकिन्छ ।”

दाङ थारु समुदायको बाहुल्यता भएको जिल्ला हो भने पहाडबाट झरेकाहरुको पनि ठूलो हिस्सा छ । त्यसैले तराई र पहाडका रैथाने खानाहरुलाई प्रबद्र्धन गर्न आबश्यक रहेको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताउनुभयो ।“हाम्रा खानाहरु लोप हुन थालेका छन्, यी खाना हामीले प्रबद्र्धन गर्नुपर्छ”, उहाँले भन्नुभयो“खानालाई पर्यटन प्रबद्र्धन संग पनि जोडिन्छ ।”
होटेल ब्यबसायको प्रबद्र्धन तथा पर्यटनको विकास गर्नकालागि सहज यातायातको पहुँच हुनुपर्ने समेत उहाँको भनाई छ ।

रैथाने खाना स्वास्थ्यसंग पनि जोडिएको भन्दै यसलाई सबै समुदायले संरक्षण गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो । यसमा तुलसीपुर उपमहानगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । तुलसीपुरमा १४ सय बढि होटल व्यवसायीहरु छन्, तर, करिब साढे ३ सय मात्रै दर्ता प्रक्रियामा छन् ।


औपचारिक कार्यक्रम
तुलसीपुर होटल व्यवसायी समितिको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका र पाल्पाली पोलिक्निीक प्रालिको मुख्य प्रयोजनमा कार्यक्रम भएको छ । त्यस अवसरमा बक्ताहरुले रैथाने खाना तथा परिकारहरु पछिल्लो समयमा हराउदै गएको भन्दै त्यसको जोगाउनु पर्ने बताए ।

समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा होटेल व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा तुलसीपुर होटल व्यवसायी समितिका सल्लाहकार नेत्रलाल वली, प्रजातान्त्रीक उद्योगी व्यवसायी समितिका अध्यक्ष जनक खराल, तुलसीपुर चेम्मर्स अफ कर्मशका अध्यक्ष टोपबहादुर घर्तीलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

समितिका उपाध्यक्ष दोर्ण आचार्यले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सल्लाहकार प्रेमप्रकाश मल्लले गरेका थिए ।