महसुल नबुझाउँदा तुलसीपुर उपमहानगरपालिकाको विद्युत काटियो

दाङ
१३ वैशाख / विद्युतको बक्यौता नतिर्दा तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाईन काटिएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार कार्यालयको ४ महिनाकोे बक्यौता थियो । जसको करिब डेढ लाख हुन आउछ । त्यस्तै सडक बत्तिको ८० लाख बक्यौता रहेको र जरिवानासहित ९० लाख हुन आउने उनले बताए ।

सडक बत्ति र कार्यालयको बक्यौता नबुझाएकाले मंगलबार विहान विद्युत काटिएको हो । पटक–पटक विद्युत महशुल बुझाउन भनि पत्र पठाएको भएपनि त्यसको कुनै प्रतिक्रिया नदिएपछि आफूहरु लाइन काट्न बाध्य भएका उनी बताउछन् ।‘हामीले पटक–पटक उपमहानगरपालिकालाई पत्र पठायौं’,उनले भने‘तर, हामीलाई कुनै पनि प्रतिक्रिया दिनुभएन।’ सरकारी कार्यालय भएपनि पत्रको प्रतिक्रिया दिएर महसुल तिर्ने प्रतिबद्धता जनाएको भएपनि सहज हुने भएपनि त्यसो भएको उनको गुनासो छ ।

उनले सडक बत्ति र कार्यालयको महशुल नबुझाउँदासम्म बत्ति जडान नगर्ने समेत बताए ।‘कार्यालय र सडकबत्तिको महशुल नबुझाउँदासम्म हामीले विद्युत जडान पनि गर्दैनौं’,उनले भने । कार्यालयको ४ महिनाका बक्यौता भएपनि सडक बत्तिको भने धेरै बर्षको तिर्न बाँकी रहेको कार्यालय प्रमुख फर्सालले बताए । उनका अनुसार तुलसीपुरमा सरकारी कार्यालयको विद्युत काटेको पहिलो पटक रहेको समेत उनले बताए । अन्य ब्यक्तिगत तथा संस्थागत समेत गरि १२ सय विद्युत काटेको उनले बताए ।‘हामीले विद्युत महशुल नतिर्नेका विद्युत धमाधम काटिरहेका छौं’,उनले भने‘अहिलेसम्म १२ सय भन्दा बढि विद्युत काटिसकेका छौं, सरकारी कार्यालयको यो पहिलो पटक हो ।’


कार्यालयको विद्युत काट्दा सेवा प्रवाहमा भने समस्या देखिन थालेको छ । उपमहानगरपालिकाका सूचना अधिकारी बाबुराम न्यौपानेका अनुसार अहिले जेनेरेटर चलाएर काम चलाईएको छ । तर, सधै यसरी जेनेरेटर प्रयोग गर्न सकिने अबस्था भने नरहने उनले बताए । उनका अनुसार यो विषय कानुनी रुपमा पनि जटिल भएकाले समस्या रहेको सूचना अधिकारी न्यौपानेले बताए ।‘संघीय सरकारले हाम्रो सडक भन्छ, संघीय सरकारको सडकमा भएका सडक बत्तिको फेरी हामीले महशुल तिर्नुपर्ने’, उनले भने‘यो विषयमा पटक–पटक छलफल पनि भएको हो, तर आज आएर लाईन काट्नु भएछ ।’

केन्द्रले स्थानीय तहको क्षेत्रमा आफ्ना संरचना बनाएको अबस्थामा स्थानीय तहलाई कर नतिर्ने तर, उनको क्षेत्रमा बालेको बत्तिमा स्थानीय तहले तिर्नुपर्ने भन्ने कुरा अमिल्दो भएको समेत उनले बताए ।