दीपक बोहरा,
तुलसीपुर, ३ चैत ।
दाङ तुलसीपुर उपमहानगरपालिकाले तरकारी बजार केन्द्रबाट आम्दानी पाउने भएकाे छ । ‘अग्रिम साप्ताहिक’ र लाईभ दाङ डटकममा समाचार प्रकाशन भएपछि उपमहानगरपालिकाले चासो दिएको छ । यस अघि उपमहानगरपालिकाले मण्डीका सटरबाट भाडा उठाएर मासिक एक लाख सेन्टर माविलाई भाडा दिने सहमति भएको थियो । तर, सटरको भाडा उठाएर करिब ४४ लाख रुपैँया विद्यालयलाई दिनुपर्ने थियो । त्यो रकम उपमहानगरपालिकाले स्कुललाई दिन नसकेपछि गएको मंसिर देखि स्कुल आफैले भाडा उठाउने गरेको थियो ।
समाचार प्रकाशन भएपछि उपमहानगरपालिले चासो दियाे र, त्यहाँको आम्दानी लिने सहमति भयाे । विहीबार तुलसीपुरमा त्रिपक्षिय छलफल पछि उपमहानगरपालिकाले आम्दानी लिने गरि सहमति भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए ।
उनका अनुसार उपमहानगरपालिका, तरकारी ब्यबसायी र विद्यालयबीच सहमति पछि उपमहानगरपालिकाले १० प्रतिशत आम्दानी लिन पाउने र अन्य १० प्रति राजश्व लिन पाउने गरि सहमति भएको बताए ।‘भाडाको १० प्रतिशत उपमहानगरपालिकाले दिने, १० प्रतिशत लाभांस कर दिने गरि सहमति भएको छ’,उनले भने‘यो मौखिक सहमति भएको हो, अबको १/२ दिनमा लिखित सहमति हुन्छ ।’
सेन्टर स्कुलले मण्डीको भाडा उठाउन थालेपछि त्यहाँबाट उपमहानगरपालिकाले आम्दानी लिन पाएको थिएन् । त्यसपछि उपमहानगरपालिकाको लेखा समितिले मण्डी निर्माणमा लगानी गर्ने तर, आम्दानी नपाउने भएपछि प्रश्न चिन्ह उठाएको थियो । उपमहानगरपालिकाले आम्दानीका स्रोतलाई चुस्त नबनाउदा आर्थिक रुपमा कम्जोर बनेको छ । त्यसैले आर्थिक सुधार गर्नकालागि समितिले आम्दानीका स्रोतलाई चुस्त बनाउन सुझाब दिएको थियो ।
साथै उपमहानगरपालिकाले बजेट निर्माण गर्दा विद्यालय तर्फ सेन्टर स्कुललाई प्राथमिकता दिने गरि सहमति भएको समेत प्रधानाध्यापक पौडेलले बताए । त्यो मण्डीबाट आम्दानी लिने गरि मौखिम सम्झौता भएकाले त्यसलाई केही दिनमा लिखित सम्झौता गर्ने तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारीले बताए ।
सेन्टर स्कुलको १२ कठ्ठा जग्गामा तरकारी मन्डि निर्माण गरिएको छ । २०७५ माघ १ गतेदेखि लागु हुने गरि त्रिपक्षिय सम्झौता भएको थियो । त्यो सम्झौतामा सेन्टर स्कुलको १० कठ्ठा जग्गा उपमहानगरपालिकालाई भाडामा दिने कुरा उल्लेख थियो । त्यो वापत मासिक एक लाख भाडा दिने गरि सहमति भएको थियो । तर, उपमहानगरपालिकाले भाडा वापतको रकम नदिएपछि सेन्टर स्कुलले नै तरकारी मन्डीको भाडा उठाउँदै आएको थियो ।
गएको बर्ष मंसीर देखि आफूहरुले नै मण्डीको भाडा उठाएको थियो । त्यो भन्दा पहिले उपमहानगरपालिकाले नै ब्यबसायीहरुबाट भाडा उठाउँर्दै आएको थियो । त्यहाँका ३६ वटा सटरबाट भाडा उठाउने गरिएको छ । ति सटरबाट मासिक एक लाख ५७ हजार रुपैँया भाडा उठाउने गरिएको छ ।
तरकारी मन्डीकालागि मात्रै पनि उपमहानगरपालिका मार्फत तराई मधेश समृद्धि कार्यक्रमको १ करोड बढि बजेट खर्च भएको छ, भने ब्यबसायीहरुको लगानी समेत गरि २ करोड ३३ लाखमा तरकारी मन्डी सञ्चालनमा आएको हो । त्यो भन्दा अघि उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ तरकारी मन्डी थियो । त्यहाँ उपमहानगरपालिकाको ट्रेड टावर निर्माण गर्नकालागि तुलसीपुर ६ स्थित सेन्टर स्कुलको उत्तरतर्फको जग्गामा तरकारी मन्डी निर्माण गरिएको थियो ।
त्यहाँ तत्कालिन अबस्थामा १० कठ्ठा मात्रै जग्गा भाडा लिने सम्झौता भएपनि पर्खाललगायतका संरचना निर्माण गर्दा १२ कठ्ठा १७ धुर जग्गा भाडामा गएको छ । तरकारी बजारमा हाल १६ वटामा तरकारी ब्यापार, १९ वटा कोठामा फलफूल ब्यापार गर्ने गरिएको छ । २०६८ सालमा उक्त बजार दर्ता गरि सञ्चालनमा ल्याईएको हो ।
लाइभदाङ । ३ चैत्र २०७९, शुक्रबार १३:१६ बजे