तुलसीपुर उद्योग वाणिज्यसंघको धारणा : अब नो मेला

शरद रेग्मी
तुलसीपुर, २७ कात्तिक ।
मुलुकमा आर्थिक अवस्था धरासायी भएको अवस्थामा पनि मेला महोत्सवका नाममा केहि क्लवहरु क्रियाशिल भएको देखिएकाले यो समय मेला महोत्सवकालागि उपयुक्त नभएको तुलसीपुर उद्योग वाणिज्य संघको निष्कर्ष छ । तुलसीपुर उद्योग वाणिज्य संघको आइतवार बसेको बैठकले नो मेलाको अवधारणालाई अनुमोदन गरेको छ ।

मेला महोत्सवका कारण आन्तरीक लाभको अवस्था केहि पनि नहुने तथा मेला महोत्सवका नाममा स्थानिय बजारको पैसा वाहिरिएर थप आर्थिक समस्या हुने भएकाले मेला महोत्सव अस्वीकार्य भएको पनि बैठकको निस्कर्ष रहेको छ । मेला महोत्सवमा स्थानिय व्यवसायीहरुको उन्नती नहुने र वाहिरका व्यवसायीहरुले पैसा लैजाने अवस्था रहेको पनि बैठकमा सुझाव दिइएको थियो । बैठकको सल्लाह र सुझाव एवं आम व्यवसायीहरुको हितमा मेला महोत्सव नरहने भन्दै पैसा वाहिर जान दिने मेला महोत्सव नलगाउन तुलसीपुर उद्योग वाणिज्य संघ सधै सचेत रहने पनि बैठक पछि जारी विज्ञप्तीमा जनाइएको छ ।

‘उदेश्य विहिन मेलामा यहांका व्यवसायीहरु सहमत हुन सक्दैनन्, त्यसको हामीले जोडदार प्रतिकार र प्रतिवाद गर्न चाहन्छौं’, तुलसीपुर उद्योग वाणिज्य संघले आइतवार जारी गरेको विज्ञप्तीमा जनाइएको छ । जाडो मौसम सुरु हुनासाथ मेला महोत्सवका नाममा वाहिरी व्यवसायीहरु आएर यहांका व्यवसायीहरुलाइ धरासायी बनाउने प्रबृत्तिको अन्त गर्न अव देखि मेला महोत्सव नलगाउने पनि तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिव विनिल केसीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

स्थानिय सरकारले मेला आयोजना र सन्चालन कार्यविधि जारी नगरेको अवस्थामा तुलसीपुर उद्योग वाणिज्य संघको सल्लाह र सहमती विनाका मेला महोत्सव आयोजनाको स्वीकृति नदिन र सिफारीस नगर्न पनि संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अहिले मेला महोत्सवको कुनै संभावना छैनः प्रमुख जिल्ला अधिकारी
यसैबीच जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पछिल्ला केहि दिनमा मेला महोत्सव आयोजना नहुने बताएका छन् । ‘अहिले मेला महोत्सव आयोजना गर्ने उपयुक्त समय होइन, मुलुक निर्वाचनको माहौलमा होमिएका वेला हामीले तत्काल मेला महोत्सवलाइ कुनै पनि संघसंस्थालाइ स्वीकृति दिने छैनौं’, प्रमुख जिल्ला अधिकारी रेग्मीले भने । मुलुकको अर्थतन्त्र निर्वाचनका कारण ओरालो लागीरहेको समयमा मनोरन्जनात्मक कार्यक्रमलाइ राज्यले प्रोत्साहन नदिने पनि उनको अभिव्यक्ति थियो ।


यसैगरी तुलसीपुर उपमहानगरपालिकाले पनि अहिले मेला महोत्सव लगाउने उपयुक्त समय नभएको बताएको छ । ‘अहिले मेला महोत्सवको आवस्यकता होइन, मुलुकको आर्थिक समृद्धिकालागी आम निर्वाचन भैरहेका वेला मेला महोत्सव लगाएर यहांको अर्थतन्त्रलाइ थप धरापमा पार्न हामीले दिन हुन्न भन्ने स्थानिय सरकारको धारणा हो’, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले भने ।

मेला महोत्सव स्थानिय तहको आर्थिक समृद्धिकालागी हुने भन्दै उनले अहिले मुलुक आम निर्वाचनमा होमिएको अवस्थामा मेला महोत्सवका सन्दर्भमा उपमहानगरपालिका नरहेको पनि उनले बताए । यस अघि कसले सिफारीस दियो, कसले स्वीकृति दियो भन्दा पनि अव मेला महोत्सव लगाउनकालागी उपयुक्त समय र कार्यविधि तुलसीपुर उपमहानगरपालिकाले बनाउने पनि नगर प्रमुख खड्काको अभिव्यक्ति थियो ।