खुकुरी प्रहारको आरोपमा उपमेयरका उम्मेदवार पक्राउ,चारजना घाइते

दाङ
३१ वैशाख / खुकुरी प्रहार गरेको भन्दै दाङ तुलसीपुर उपमहानगरपालिकाका उपमेयरका उम्मेदवार शुसिल गन्दर्भलाई पक्राउ गरिएको छ । खुकुरी प्रहार हुँदा तुलसीपुर ४ रक्षाचौरका चार जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर ४ स्थित गन्दर्भकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । नजिकै पुजामा मदिरा खाएर यसरी झडप भएको हुन सक्ने प्रहरीले बताएको छ । ‘पुजामा गएको बेलामा मदिरा सेवन गरेपछि सामान्य विवाद भएछ’, अर्यालले भने‘त्यसपछि खुकुरी हानाहानको अबस्था सिर्जना भएको देखिन्छ ।’

दिउसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको स्रोतले बताएको छ ।‘दिउसो रक्षाचौर स्कुल स्थित मतदान केन्द्रमा मतदान भइरहेको थियो, त्यही बेला केही युवाहरुले मतदान स्थलमै प्रचार गरिरहेका थिए, त्यसपछि गन्दर्भका छोरा सुमनले किन यसरी प्रचार गरेको भनि ति युवाहरुलाई भनेपछि केही विवाद भएको थियो’,स्रोतले भन्यो‘त्यसपछि ति युवाहरु झगडा गर्ने नियतले नै साँझ घरमै गएका हुन् ।’


छोरा सुमनलाई ति युवाहरुले पिट्न थालेपछि त्यसको प्रतिकारकालागि उम्मेदवार गन्दर्भ गएको र उनीहरुमाथि पनि चोट पटक लागेको हो । त्यसबाट ३ जना युवा र गन्दर्भका छोरा सुमन घाइते भएका हुन् । सुमनको टाउको, छातिलगायतमा चोट लागेको छ ।

निर्वाचनकै दिन शुक्रबार राति साढे ९ बजेतिर उक्त घटना भएको हो । गन्दर्भ स्वतन्त्रको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा उम्मेदवार थिए । उनी तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।