त्रिभुवननगर जेसीजको ‘जेसीज सप्ताह’ सुरु

दाङ, १ वैशाख ।


त्रिभुवननगर जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह’को आज उद्घाटन भएको छ । त्रिभुवननगर जेसीजले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएकोमा यसवर्ष नयाँवर्षको शुभकामना आदानप्रदान गरी जेसीज सप्ताहको उद्घाटन गरिएको हो । कार्यक्रममा त्रिभुवननगर जेसीजले प्रकाशन गरेको क्यालेन्डरको समेत विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका अध्यक्ष लालमणि भण्डारीले जेसीज सप्ताह जेसीजको वर्षभरिकै मूल्याङ्कन हुने प्रमुख कार्यक्रम भएको भन्दै यसलाई समाजसँग जोड्नुपर्ने बताउनुभयो । युवाहरुको नेतृत्व विकास गरी समाजमा सक्षम नेतृत्व हस्तान्तरणमा जेसीजले भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले सप्ताहव्यापी कार्यक्रमले समेत त्यसलाई पुष्टि गरेको धारणा राख्नुभयो । कार्यक्रमका अर्का वक्ता घोराही उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १८ का अध्यक्ष भरतमणि अर्यालले दाङले जेसीजको केन्द्रीय नेतृत्व पाएबाटै नेतृत्व विकासमा त्रिभुवननगर जेसीज अब्बल सावित भएको बताउनुभयो ।
त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्यको अध्यक्षता भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नरेश कार्की, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, त्रिभुवननगर जेसीजका पूर्व अध्यक्ष कृष्णप्रसाद गौतम, माया लोहनी, दाङ महिला जेसीजकी अध्यक्ष शारदा घर्तीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जेसीज सप्ताहअन्तर्गत २ गते भ्याट/ट्याक्स सम्बन्धी तालिम, ३ गते रक्तदान कार्यक्रम, ४ गते मोबाइल एडिक्सन सम्बन्धी कार्यक्रम, ५ गते शैक्षिक सामग्री वितरण कार्यक्रम, ६ गते लागुऔषध दुव्र्यसनीसम्बन्धी सचेतनामूलक कार्यक्रम र ७ गते जेसीज सचिवालयमा साहित्योत्सवसहित सप्ताहको समापन गरिने जेसीज सप्ताहका मूल संयोजक कार्यकारिणी उपाध्यक्ष महेश गुप्ताले जानकारी दिनुभयो ।
जेसीजका सदस्य किरण न्यौपानेको आस्थापाठ तथा उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रमका संयोजक चुडामणि पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन त्रिभुवननगर जेसीजका महासचिव कुलबहादुर ओलीले गर्नुभएको थियो ।