नापीको एउटा त्रुटीले गाउँ नै तनाबमा : जग्गा एउटाको, पुर्जा अर्कैको

दाङ,२४ चैत ।
जग्गा एउटाको नाममा छ, भोग अर्कैले गरिरहेको छ । नापी कार्यालयकै त्रुटीका कारण दाङको एउटा गाउँ निकै तनाबमा छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को भित्री स्यालापानी र बाहिरी स्यालापानीका ४० घर जति नागरिकको जग्गामा नापीले त्रुटी गर्दा समस्या गरेको छ । घर र जग्गा भोग गरिहेको एउटाले हुन्छ, तर, अर्कैका नाममा पूर्जा हुँदा त्यसले गाउँलाई निकै समस्या गराउने गरेको छ ।

स्थानीय संगीता बस्नेतको परिवारको १६ कठ्ठा ४ धुर जग्गा नाममा छ । तर, उनीहरुले अहिले ४ कठ्ठा मात्रै भोग गर्दै आएका छन् । किनकी उनीहरुको नाममा जग्गा भएपनि त्यो जग्गा अर्कैले भोग गर्दै आएका छन् । त्यस्तै दरिभान घर्तीको परिवारले २०१६ सालमा त्यस स्थानमा जग्गा किनेर घरबास समेत बनाएको हो । तर,उनीहरुले किनेको र बनाएको घर अहिले अर्कैको नाममा छ । त्यति मात्रै होईन्, त्यही ठाउँका दुर्गा कुमारी बस्नेतको परिवारले पनि त्यहाँ जग्गा किन्यो । उनीहरुले खेत भनेर जग्गा किने तर, नापी गर्दा सिंचाईको सुविधा समेत नभएको पाखो जग्गा परेको रहेछ । अहिले त्यही पाखो जग्गा उनीहरुले भोग गर्दै आएका छन् । जग्गा अर्काको नाममा परेर यस्तै थुप्रै समस्याहरु देखिएका छन् । त्यहाँका करिब ४० घरको यस्तो समस्या छ । भोग गरेको जग्गा एउटा र पुर्जा भएको जग्गा अर्कैको हुँदा निकै समस्या हुने गरेको स्थानीय संगीता बस्नेतले बताईन् ।“हाम्रो जग्गा १६ कठ्ठा ४ धुर हो, तर अहिले हामीले ४ कठ्ठा मात्रै उपभोग गर्दै आएका छौं’,उनले भनिन्‘भोग गर्दै आएको जग्गा पनि हाम्रो नाममा छैन, अहिले जति भोग गर्दै आएका छौं, त्यति मात्रै हाम्रो नाममा आएपछि खुसी हुनेथियौं ।”

अहिले अर्कोका जग्गामा बसोबास गर्दा आफूहरुले त्यो जग्गामा घर निर्माणदेखि बैंकबाट ऋण लिन समेत स्थानीय दरिभान घर्तीले बताए ।‘हामीले किनबेच पनि गर्न पाएका छैनौं, बैंकबाट ऋण निकालेर केही काम पनि गर्न पाएका छैनौं’,उनले भने‘ घर हालौं भनेपनि समस्या छ, अर्काको जग्गामा घर हाल्दा भोली समस्या हुने हो की भन्ने निकै डर छ ।’

घर्तीको परिवार २०१६ सालमा त्यो स्थानमा बसोबास गर्न आएको हो । उनीहरुले त्यहाँ जग्गा किनेर बस्न थालेका हुन् । जतिबेला ६ महिना त्यस ठाउँमा बस्ने र बाँकी ६ महिना पहाडी क्षेत्रमा बस्ने चलन थियो । औंलोको जोखिमले पनि त्यहाँका नागरिकहरु पहाड जाने गर्थे । त्यहाँबाट पहाडमा गएको मौकामा त्यहाँ नापी भएको स्थानीय घर्तीले बताए ।‘हामी ६ महिना दाङ बस्थ्यौं, ६ महिना पहाड बस्थ्यौं’,उनले भने‘त्यही मौकामा नापी आएर जग्गा नापेर गएछ, पछि मात्रै हामीहरुलाई थाहा भयो ।’ त्यहाँका स्थानीयले यसरी जग्गा विग्रिएको भन्ने पनि थाहा पाएका थिएनन् । २०५२÷०५३ तिर जग्गा किनबेच गर्ने क्रममा मात्रै उनीहरुले जग्गा यसरी विग्रिएको भन्ने थाहा पाए ।


अहिले मालपोत एउटाले तिर्ने र भोग अर्कैले गर्ने अबस्था सिर्जना भएको छ ।‘मालपोत कर हामीले तिर्छौ’, स्थानीय मिनप्रकाश विश्वकर्माले भने‘तर, जग्गा अर्कैले भोग गर्ने गरेका छन् ।’ राजनीतिक दलहरुले मिलाउन चाहेमा यो केश मिल्न सक्ने भएपनि यो विषयमा राजनीतिक दलहरुले पनि आफ्नो स्वार्थलाई बढि ध्यान दिएको समेत उनीहरुको गुनासो छ ।

त्यहाँ जग्गा किनबेच गर्दा पनि निकै समस्या देखियो । स्थानीय दुर्गा कुमारी बस्नेतको परिवारले त्यहाँ खेत भनेर किने तर, नापीका क्रममा पाखोबारी परेकाले उनीहरु पाखो बारीमा चित्त बुझाउन बाध्य भए ।‘हामीले खेत भनेर किन्यौं, केही बर्ष जोतभोग पनि ग¥यौं”, बस्नेतले भनिन्‘तर, पछि अर्कैका नाममा भएपछि, जसको नाममा छ, उसैले दावी ग¥यो, हाम्रो भागमा पाखो बारी मात्रै प¥यो ।’ अहिले जग्गा बढि परेका ब्यक्तीहरुले आलटाल गर्दा पनि त्यहाँ कुरा मिल्न सकेको अबस्था छैन । यो विषयमा पटक–पटक वडा, पालिका र नापी कार्यालयलाई झक्झक्याउँदा पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।‘ हामीले नापी कार्यालयमा पनि झक्झक्यौं, पटक–पटक वडालाई पनि भन्यौ, उपमहानगरपालिकामा पनि गयौं”,उनले भने‘हुन्छ–हुन्छ,भन्ने भयो तर, कुनै पनि निकायबाट यसमा चासो दिइएन ।’

यसले पछिल्ला सन्तानहरुलाई निकै समस्या पर्ने भन्दै यो समस्या तत्काल समाधान गर्न तर्फ सबैले ध्यान दिनुपर्ने समेत स्थानीयको भनाई छ । नापी कार्यालय तुलसीपुरमा भने यो विषयमा समस्या ल्याएर स्थानीयहरु नआएको कार्यालय प्मुख गणेशमान विश्वर्माले बताए ।‘म आएदेखि अहिलेसम्म कार्यालयमा कसैले पनि यो समस्या ल्याएर आउनु भएको छैन’,उनले भने‘ यो विषयमा स्थानीय सरकारले चासो दिनुपर्छ, त्यहाँका स्थानीयहरु पनि एकआपसमा मिलेर आएमा सहज हुने देखिन्छ ।’ साभार : अग्रिम साप्ताहिकMay be an image of 6 people, people standing and text