राप्ती गाउँपालिका अध्यक्ष धरौटीमा छुटे

दाङ, १८ साउन ।
सहकारीको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले २ लाख ५० हजार धरौटीमा छुटेका छन् । राप्ती गाउँपालिका—५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोप लागेका अध्यक्ष सुवेदीलाई सोमबार धरौटी तोकिएको थियो ।

उनी आफै अदालतमा उपस्थित भएर बयान दिए लगत्तै भएको थुनछेक बहसबाट अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको एकल इजलासले धरौटीमा छोड्न आदेश दिएको हो । तत्कालिन महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा तथा सुपरिवेक्षण समितीको संयोजक पदमा रहेका सुवेदीसहित २५ जना कर्मचारीलाई पक्राउ गर्न अदालतले आदेश दिएको थियोे ।


रकम हिनामिना आरोप लागेका ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो । पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । केही महिना पहिले मात्रै चारवटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।