मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

दाङ, १४ कात्तिक ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड मतपत्र छपाइ भइसकेको छ ।

मंसिर ३ गतेसम्म कायम हुने मतदाताको संख्याको आधारमा यसपटक समानुपातिकतर्फ करिब ४ करोड तथा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ करिब ४ करोड मतपत्र आवश्यक पर्ने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भइसकेको छ, भने सोमबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ २ करोड ८६ लाख ८८ हजार ५०० मतपत्र छपाइ भएको छ । अब करिब एक करोड १४ लाख मतपत्र मात्र छपाइ गर्न बाँकी छ ।

छपाइ भएका पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र मध्ये १ करोड २९ लाख ५३ हजार ५०० प्रदेश सभा तथा १ करोड ४६ लाख ३५ हजार प्रतिनिधि सभाको मतपत्र रहेका छन् । जसमा प्रतिनिधिसभाका लागि ५० र प्रदेश सभातर्फ ४६ जिल्लाको मतपत्र समावेश छन् ।

धमाधम ढुवानी
निर्वाचन आयोगले छपाइसँग-सँगै ढुवानी पनि गरिरहेको छ । मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ, भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ । जसमा प्रतिनिधि सभाको मतपत्र ३९ लाख १९ हजार र प्रदेश सभाको मतपत्र ३९ लाख ४३ लाख रहेका छन् ।


पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ । ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालिकोट, दैलेख र सुर्खेत रहेका छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ । यी जिल्लामा सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिने छ ।

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित मतपत्र प्रयोग गर्ने भएकोले यो पटक निर्वाचन क्षेत्र अनुसार फरक-फरक मतपत्र प्रयोग हुने छ । त्यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधि सभाका लागि देशै भर एउटै मतपत्र प्रयोग हुने छ । प्रदेश सभाका लागि भने प्रदेशमा कायम रहेका दलको संख्या अनुसार फरक-फरक मतपत्र प्रयोग हुने छ ।

आयोगले ढुवानी भएका जिल्लाहरूमा अस्थायी मतदाताहरूका लागि प्रयोग हुने मपतत्रसमेत पठाएको छ । अस्थायी मतदाताको सूचीमा कर्मचारी, सुरक्षाकर्मी, कैदी, वृद्धाश्रमका व्यक्तिलगायतलाई समेटिएको छ । उनीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि मात्र मतदान गर्न पाउने छन् । आयोगले १६ गतेसम्ममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा मतपत्र ढुवानी गरिसक्ने छ ।