लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ तोकिएको १६ महिना वित्यो । तर,अहिलेसम्म पनि संरचना आउन सकेको अबस्था छैन । अहिले दुईवटा मन्त्रालय भालुवाङमा छन् । तर, ति मन्त्रालयबाट काम हुँदैन । हप्ताको एक दिन मन्त्रीहरु पुग्छन्, अनि चिया गफ गर्ने भन्दा अरु काम हुन सक्दैन । मन्त्रालय भालुवाङ रहेपनि सबै काम बुटवलबाटै हुन्छ । बुटवलमै सम्पर्क कार्यालय स्थापना भएका छन् । मन्त्रीहरु पनि प्रायः कामकालागि बुटवल नै जानुपर्ने अबस्था छ । छाप, ठेगाना भालुवाङको प्रयोग हुने गरेको भएपनि सबै काम बुटवल हुने अबस्था रहेको छ ।
पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय भालुवाङ ल्याईएको हो । तर, अहिले मुख्यमन्त्री कार्यालय नै बुटवल भएकाले पनि भालुवाङबाट कार्यालय सञ्चालनमा ल्याउन सकिएको अबस्था छैन । मुख्यमन्त्री कार्यालयलाई भालुवाङ नल्याउँदासम्म यहाँबाट प्रभाबकारी रुपमा काम हुन नसक्ने मन्त्रीहरुले नै भनिरहेको छन् । त्यसैले पनि मुख्यमन्त्री कार्यालयलाई नै भालुवाङ ल्याउने गरि सोँच्नु पर्ने देखिन्छ । अहिले भालुवाङमा प्रदेशसभा भवन निर्माण कार्य जारी छ । भवन निर्माणको काम अघि बढिरहेको छ । राजधानीको गुरुयोजनाले पनि अन्तिम रुप लिन लागेको छ । त्यहाँको जग्गा ब्यबस्थापनको काम पनि लगभग–लगभग अन्तिम चरणमा पुगेको छ । लालमटिया स्थित प्राबिधिक शिक्षालयलाई गोबरहिडा स्थित सरस्वति माविमा सार्ने गरि तयारी थालिएको छ । तत्काललाई शिक्षालय सार्न सकेमा पनि त्यहाँ प्रदेशसभा भवन र मुख्यमन्त्री कार्यालय राखन सकिने गरि छलफल अगाडी बढाईएको छ । यी कार्यहरु तत्काल गरेर भालुवाङ स्थायी राजधानी ल्याउन तर्फ ध्यान दिन आबश्यक छ ।
अर्कोतर्फ कर्मचारीहरुले पनि भालुवाङमा मन्त्रालयहरु सञ्चालन गर्ने कार्यमा अवरोध गरेको देखिन्छ । देश र जनताको सेवा गर्ने सफत खाएका कर्मचारीहरुले नै सरकारलाई असहयोग गर्ने खालका गतिबिधिले पनि हरेक कुराहरु अबरोध हुने गरेका छन् । मन्त्रीपरिषदले निर्णय गर्ने तर, त्यो निर्णय मन्त्रालयका कर्मचारीहरुलाई पालना नगर्ने जस्ता कारणहरुले पनि समस्या निम्तिएको देखिन्छ । अहिले मन्त्रालय भालुवाङ ल्याएपछि सचिबहरु त्यहाँ आउन नमान्दा पनि काम बुटवलबाट गर्नुपर्ने अबस्था आएको छ । मन्त्रीले पनि अलि कडाइकासाथ आफ्ना निर्णय पालना गर्न लगाउनु पर्छ, भने कर्मचारीहरुले पनि यसमा ख्याल गर्नुपर्ने देखिन्छ । एकअर्काप्रति सहयोगी भावना नहुँनुले परिबर्तनका हरेक कुरामा असर गरिरहेको छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । १६ फाल्गुन २०७८, सोमबार १०:३६ बजे