
बंशीकुमार शर्मा
“जन्म कुन ठाउँमा भयो भन्ने कुरा होइन, कर्म कस्तो छ भन्ने कुरा नै महत्वपूर्ण हो।” – भगवान श्रीकृष्ण
वैदिक सनातन धर्मको गहिरो दर्शन र जीवनशैलीलाई सर्वाङ्गीण रूपमा प्रस्तुत गर्ने भगवान श्रीकृष्ण हुनुहुन्छ । उहाँले अर्जुनलाई दिनुभएको सन्देश युगयुगान्तर सम्म मानव जीवनका सर्वोच्च मार्गदर्शक बनेको छ । भगवान श्रीकृष्णले ज्ञानयोग, कर्मयोग र भक्तियोगले मात्र मानव मोक्ष हुन्छ भन्नुभएको छ । उहाँले स्पष्ट र व्यावहारिक रूपमा ज्ञानयोग, कर्मयोग र भक्तियोगको बारेमा बुझाउनु भएको छ ।
१. ज्ञानयागको वारेमा भगवान श्रीकृष्णले भन्नुहुन्छ
ज्ञानयोग सत्यको बोध र आत्मज्ञानमा आधारित साधना हो । श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रमै जीवनको गहिरो सत्य बुझाउँदै भन्नुभयो आत्मा अजर–अमर छ, शरीर मात्र नाशवान हो। मोह, लोभ र अज्ञानका बादल हटाएर जीवनको वास्तविक लक्ष्य पहिचान गर्नुपर्छ। सत्यमार्गमा हिँड्ने मान्छे सदैव महान् हुन्छ । उहाँले ज्ञानयोगमार्फत मानवलाई “स्वयंको सत्य परिचय” पाउन प्रेरित गर्नुभयो।
२. कर्मयोगको बारेमा भगवान श्रीकृष्णले भन्नुहुन्छ
निष्काम भावले आफ्नो कर्तव्य निर्वाह गर्नु हो। श्रीकृष्णले गीता मार्फत “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” कर्म गर्नुपर्छ, तर फलको लोभ गर्नु हुँदैन। आफ्नो धर्म (कर्तव्य) बाट कहिल्यै पछि हट्नु हुँदैन, चाहे परिस्थिति जस्तोसुकै किन नहोस्।साँचो कर्मयोगी त्यो हो, जसले सेवा र श्रमलाई पूजा जस्तै मान्छ । यस शिक्षाले संसारलाई कार्यशक्ति, अनुशासन र आत्मनिर्भरतालाई जीवनको मूल मन्त्र बनाउने प्रेरणा दिएको छ ।
३. भक्तियोगको बारेमा भगवान श्रीकृष्णले भन्नुहुन्छ
भक्तियोग पूर्ण समर्पण र प्रेम हो। प्रेम, विश्वास र समर्पण नै भक्तियोग हो । नाम स्मरण, कीर्तन, पूजा त्यसको गरिन्छ जसलाई आफुले प्रेम बिश्वास गरिन्छ । श्रीकृष्णले ज्ञानयोग, कर्मयोग र भक्तियोगका यी तीन मार्गहरू अलग–अलग होइन, एक अर्काको पूरक हुन भन्नुभयो । जसले जीवनलाई सन्तुलित, अर्थपूर्ण र आनन्दमय बनाउँछ ।
वैदिक सनातन धर्मग्रन्थ अनुसार, भगवान विष्णुको दशावतारमध्ये द्वापरयुगमा भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीको मध्यरातमा, मथुरामा, वसुदेव र देवकीका पुत्रका रूपमा भएको हो । भगवान श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले, गोकुलवासी नन्द को घरमा छोडेका थिए ।
भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरामा वसुदेवकी श्रीमती देवकीको गर्भबाट राजा कंसको कारागार भित्र भएको थियो। देवकी कंसकी बहिनी थिईन्। कंस देवकीको विवाह पछि वसुदेव र देवकीलाई रथमा राखेर आफुले रथ हाँक्दै उनको घरमा पुर्याउन जाँदै थिए त्यसैबेला आकाशवाणी भयो त्यस आकशावाणीले कंशलाई चेतावनी दियो–“जुन बहिनी र ज्वाँई लाइ तिमी घर पुर्याउन जाँदै छौ उनको आठौँ गर्भबाट तिम्रो मृत्यु हुनेछ ।” यो आकाशवाणी सुनेर कंसले देवकीको हत्या गर्न आफ्नो तरवार निकाल्यो, तब वसुदेवले कंसको अघाडी हात जोडेर देवकीको गर्भबाट जती सन्तानहरू जन्मिन्छन, ती सबैलाई जन्मेकै समय कंसलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गरे। यो सुनेर कंशले वसुदेवको प्रतिज्ञा स्विकार ग¥यो र उनीहरूलाई तत्काल कारागारमा हालिदियो अनि कारागारको बाहिर घेरा हालेर पहरेदारहरूले कडा पहरा दिए ।
केही समय पछि देवकीको गर्भवाट पहिलो सन्तानको जन्म भयो। वसुदेवको प्रतिज्ञा बमोजिम कंस त्यो सन्तान लिन आयो र आफ्नै हातबाट खसालेर उसको हत्या गरि दियो । त्यसै गरी उसले देवकीका अन्य छ वटा सन्तानहरूको हत्या गरिदियो। त्यस पछि देवकीको सातौं गर्भ देवी योगमायाले भगवान विष्णु को आज्ञा अनुसार वसुदेवकी दोस्री श्रीमती रोहिणीको गर्भमा सारिन् । जब श्रीकृष्णको जन्मको समय आयो तब भगवान विष्णुले वसुदेव र देवकीलाई आफ्नो चतुर्भुज अवतारको दर्शन गराउनु भयो र त्यसपछी भन्नु भयो “हे देवकी, म तिम्रो छोरा को रूपमा जन्म लिन आएको हु र जब म तिम्रो गर्भबाट जन्म लिन्छु तब यो कारागार बाहिरका पहरेदारहरू निद्रा लिन हुनेछन् र तिम्रो हतकडीहरू खुल्नेछ । त्यसै बेला वसुदेव, तिमी मलाई गोकुल लैजाउ, गोकुलमा नन्दका घरमा भर्खरै एक कन्याको जन्म भएको छ, त्यहाँ मलाई यशोदाको काखमा सुताएर उनकी छोरीलाई ल्याएर यहाँ आउनु । त्यति भनि भगवान विष्णु अन्तध्र्यान हुनु भयो । केही समय पछि देवकीको गर्भबाट भगवान श्रीकृष्णको जन्म भयो।
भगवानको लिला अनुसार वसुदेव र देवकीका हतकडी खुल्ला भए र भगवान विष्णुले भने बमोजिम वसुदेवले बालक कृष्णलाई टोकरीमा राखेर गोकुल जान हिँडे । तर बाटोमा यमुना नदि थिइन्। यमुनाले भगवान श्रीकृष्णको दर्शन गर्नुको साथै वसुदेवको लागि बाटो छोडी दिईन्। केही समय मै वसुदेव यशोदाको काखमा खेलीरहेकी कन्यालाई उठाई बालक कृष्णलाई त्यहाँ सुताएर मथुरा फर्के । तर यो कुरा यशोदालाई थाहा भएन। यशोदालाई प्रसव पिडाका कारण कन्याको जन्म भएको पनि थाहा थिएन । यता वसुदेवले मथुरा आएर कन्यालाई देवकीको काखमा राखी जेलमा पूर्ववत बन्दी भएर बसे । केही छिन पछि बालिका ठुलो आवाजले रुन थालिन् । यो सुनेर पहरेदारहरूको मोह निद्रा खुल्यो र बालक जन्मेको कुरा कंशलाई पत्तो लाग्यो। बालक जन्मेको कुरा थाहा पाएर कंस कारागारमा आएर बालिकालाई देवकीको हातबाट खोसेर बाहिर गयो बालिकालाई पहिलेका बालकहरू जस्तै गरी जमिनमा पछार्दा बालिकाले आकाशमा उड्दै भनिन् “हे पापी, तँलाई मार्ने तेरो कालले जन्म लिइसकेको छ र अहिले गोकुल मा छ” भनिन् । यी बालिका महा शक्ति योगमाया थिइन् । यो सुनेर कंशले भर्खर जन्मेका सबै बालकलाई मार्न तयार भयो तर श्रीकृष्णलाई मार्न सकेन ।
मथुराको राजा कंसले श्रीकृष्ण गोकुलमा भएको थाहा पाएर आफ्नी एक दासी पुतनालाई गोकुलमा भएका बालकहरू सबैलाई जसरी भए पनि मार्ने आज्ञा दियो। राजा कंसको आज्ञानुसार पुतना पनि गोकुलमा गएर आफ्नो स्तनमा विष लगाएर बालकहरू चोर्दै जबर्जस्ती बालकको मुख आफ्नो स्तनमा दलेर स्तनपान गराउन लागी । यसै क्रममा पुतना यशोदाको घरमा पुगी । यशोदा श्रीकृष्णलाई घरमा सुताएर आफू घरको काममा लागेकी थिईन् । यसै बेला राम्रो अवसर पाईयो भन्ने ठानी पुतनाले बालक कृष्णलाई चोरेर लगी केही पर गएर कृष्णलाई स्तनपान गराउन लागि तर भगवान श्रीकृष्णले स्तनपान गर्दा गर्दै पुतनाको प्राण समेत चुसीदिनु भयो। भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयैँ बाल लिला रचाएका कथाहरु छन् ।
कहिले कसैको घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए । कहिले राधा र गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए/नभएका मागहरू राखेर दिक्क पारेका थिए । कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला–ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोवर्धन पर्वत धारण जस्ता अनेकौं बाल लिला देखाएका थिए । ऋग्वेद, उपनिषद, महाभारतदेखि विष्णुसहस्रनामसम्म, श्रीकृष्णको महिमा अमर छ । उहाँलाई “पूर्णावतार” मानिन्छ। हिन्दू शास्त्र अनुसार, जब–जब पाप बढ्छ र धर्म क्षीण हुन्छ, भगवान विष्णु कुनै न कुनै रूपमा अवतार लिएर अधर्मको अन्त्य र धर्मको उद्धार गर्नुहुन्छ । दुर्योधन र अर्जुन दुवैले श्रीकृषण्को विराट रुप वा विश्वरुप देखेका थिए ।
कृष्णले कंसलाई मारेर मथुरा कब्जा गरेपछि कंस का अनन्य मित्र मगधराज जरासन्धले कंस हत्या को बदला लिन मथुरामाथि अठार पटकसम्म हमला गरे। अन्तिम पटकको हमलाको प्रतिरोध नगरी कृष्णले मथुरा छाडिदिए । त्यसपछि कृष्णको नाम ‘रणछोड’ रहन गयो।
मथुरा छोडेर भगवान श्रीकृष्णले सबै यादवहरू साथमा लिएर द्वारीकामा आफ्नो नयाँ जिवनको सुरुवात गरेका थिए। द्वारीकामा पनि भगवान कृष्णलाई धेरै शत्रुहरूको सामना गर्नु परेको थियो। उनले आफ्ना दाजु बलरामसँग सान्धीपिनी नामका ऋषीको आश्रममा गएर धनुर्वेद सिकेका थिए । सान्धीपिनीले आफ्ना मरेका छोराको ज्यान गुरु दक्षिणा मागेकाले भगवान कृष्ण र बलरामले यमलोक गएर गुरुका मरेका छोरा फिर्ता ल्याएका थिए । धनुर्वेद पढेर घर फर्केपछी श्रीकृष्णले विभिन्न सयंवरहरू जितेर रुक्मिणी लगायतका आठवटा रानीलाई विवाह गरेका थिए भने भौमासुरले थुनेर राखेका १६००० राजकुमारीहरूलाई भौमासुरलाई मारेर जेलबाट मुक्त गरेका थिए । भौमासुरको जेलमा बन्दी भएका ती १६ हजार राजकुमारीहरूले पनि कृष्णसँग विवाह गर्ने ईच्छा प्रकट गरेकोले भगवान श्री कृष्णले ती राजकुमारीहरूलाई पत्नीको मान्यता दिनु भयो ।
भगवान कृष्णले भीमसेनद्वारा आफ्नो शत्रु जरासन्धलाई पनि मराएका थिए भने सिसुपाल, शाल्व, दन्तवक्र, विदुरथ जस्ता पापीहरूको बध गरेका थिए भने बाणासुरसँग युद्ध गरेर उसको सबै घमण्ड उतारेका थिए । यसै गरी उनले महाभारतको युद्धमा आफू नलड्ने भएर धर्मात्मा र सत्यवादी पाण्डवहरूका भाइ अर्जुनको सारथी बनेर विजय गराएका थिए र कौरवहरूको पराजय गराएका थिए। उनले आफ्नो एक जना बचपनका साथी सुदामालाई गरिबको जिन्दगीमा बाँचेको देखेर धन धान्यले भरिपूर्ण गराउनु भएको थियो ।महाभारतको युद्ध पश्चात भगवान कृष्णले द्वापरयुगमा पापीहरूको अन्त्य गरेका थिए । जतिबेला यो पृथ्वीमा पापीहरू धेरै हुन्छन्, त्यो बेला भगवान विष्णु कुनै न कुनै रूपमा अवतरीत भएर पापको नास गरेर धर्मको उद्धार गर्छन् भन्ने हिन्दू मान्यता रहेको छ ।
वैदिक सनातन धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमीलाई भाद्र कृष्ण अष्टमीको रात, मोहरात्रि, भक्तिपूर्वक पूजाअर्चना गर्दै वैदिक सनातनीहरूले मनाउँदै आएका छन् ।
!! जय श्रीकृष्ण !!



लाइभदाङ । ३२ श्रावण २०८२, शनिबार १६:२७ बजे