
तुल बहादुर कवँर मगर
मसुरिया, १ मंसिर ।
दाङको राप्ती गाउँपालिकाले स्थानीय मौलिक कला, संस्कृति र परम्परागत पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यही मंसिर ८ गते ‘देउसीभैलो महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को भाषा तथा संस्कृति शीर्षकअन्तर्गत भैलो महोत्सव कार्यक्रम आयोजना गर्न लागेको हो।
महोत्सवमा स्थानीय मौलिक कला, संस्कृति, भेषभूषा र परम्परागत पहिचान झल्किने देउसीभैलो प्रस्तुत गरिनेछ।
महोत्सवलाई मौलिक तथा वातावरणमैत्री बनाउन सहभागी समूहले डिजे तथा स्पिकर प्रयोग गर्न नपाउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
परम्परागत शैलीमा देउसीभैलो प्रस्तुत गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
गाउँपालिकाले महोत्सवमा सहभागी हुन इच्छुक देउसीभैलो समूहलाई मंसिर ४ गतेभित्र गाउँपालिकाको कार्यालय मसुरियामा समूह दर्ता गराउन आग्रह गरेको छ।
सहभागी समूहमा कम्तीमा १० जना सदस्य हुनुपर्नेछ।

गाउँपालिकाका अनुसार महोत्सव मंसिर ८ गते गाउँपालिकाको कार्यालय परिसरमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ।
महोत्सवले स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा सांस्कृतिक पहिचान हस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाले देउसीभैलोलाई मनोरञ्जनमा मात्र सीमित नराखी मौलिक संस्कृति, सामाजिक एकता र स्थानीय पहिचानसँग जोड्ने उद्देश्य राखेको जनाएको छ।



लाइभदाङ । २ मंसिर २०८३, मंगलवार २०:१८ बजे