
घोराही, ०१ मङ्सिर ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक, जवाफदेही र मितव्ययी बनाउने निर्णय गरेको छ। अब प्रतिष्ठानले सोझै खरिद गर्नुपर्ने अवस्थामा समेत सार्वजनिक सूचना जारी गरी प्रतिस्पर्धाका आधारमा खरिद प्रक्रिया अघि बढाउने भएको छ।
प्रतिष्ठानले २०८३ मंसिर १ गते जारी गरेको सूचना तथा सर्कुलरमार्फत सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्थाअनुसार खरिद कार्यलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जनाएको छ।
सूचनाअनुसार एक लाख रुपैयाँभन्दा बढी मूल्यका मालसामान, परामर्श सेवा वा अन्य सेवा सोझै खरिद गर्दा प्रतिष्ठानको वेबसाइटमा सार्वजनिक सूचना प्रकाशन गरी शिलबन्दी दरभाउपत्र वा प्रस्ताव माग गरिनेछ। प्राप्त दरभाउपत्र तथा प्रस्तावका आधारमा खरिद प्रक्रिया अगाडि बढाइने प्रतिष्ठानले जनाएको छ।
यसैगरी, प्रतिष्ठानका सम्पूर्ण विभाग तथा शाखाहरूलाई खरिदका लागि माग फाराम पठाउँदा आवश्यक सामग्री वा सेवाको स्पेसिफिकेसन (विस्तृत विवरण) अनिवार्य रूपमा खुलाउन निर्देशन दिइएको छ।
यस निर्णयले खरिद प्रक्रियामा हुने सम्भावित अनियमितता न्यूनीकरण गर्नुका साथै प्रतिस्पर्धा बढाउन, गुणस्तरीय सामग्री तथा सेवा प्राप्त गर्न र सार्वजनिक स्रोतको प्रभावकारी उपयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालद्वारा हस्ताक्षरित सूचनामा खरिद प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउन सबै विभाग तथा शाखालाई निर्देशन दिइएको छ।



लाइभदाङ । २ मंसिर २०८३, मंगलवार २१:०५ बजे