
मसुरिया, १ मंसिर ।
दाङको राप्ती गाउँपालिकामा सरुवा भई आउनुभएका वरिष्ठ लेखा अधिकृत निराजन राज लम्साललाई गाउँपालिकाले स्वागत गरेको छ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाबाट सरुवा भई आउनुभएका लम्साललाई मंगलबार प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहलगायत कर्मचारीहरूले टीका तथा पुष्पगुच्छा प्रदान गरी स्वागत गर्नुभएको हो। स्वागत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मल्लाहले लम्सालको अनुभव र कार्यकुशलताले गाउँपालिकाको आर्थिक प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले जनप्रतिनिधिको भिजन र गाउँपालिकाको लक्ष्यअनुसार नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कर्मचारीबीच समन्वय, सहकार्य, पारदर्शिता र जवाफदेहिता आवश्यक रहेको बताउनुभयो।
त्यस्तै, वरिष्ठ लेखा अधिकृत लम्सालले आर्थिक प्रशासनलाई पारदर्शी र व्यवस्थित बनाउँदै विकास निर्माणका योजना कार्यान्वयन तथा नागरिकलाई गुणस्तरीय सेवा प्रवाहमा आफू प्रतिबद्ध रहने बताउनुभयो।
आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख अनिल आचार्यले गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।



लाइभदाङ । २ मंसिर २०८३, मंगलवार १७:१६ बजे