थारु मौलिक कला, संस्कृति र पहिचान संरक्षणमा जोड, लमहीमा सांस्कृतिक उत्सव

प्रिया स्मृती गजमेर
देउखुरी, ०१ कार्तिक ।
थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, भेषभूषा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दाङको लमहीमा थारु सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

थारु समुदायको मौलिक पहिचानका रूपमा रहेका परम्परागत नाचगान, भेषभूषा, भाषा, साहित्य र संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले थारु समुदायको कला र संस्कृति केवल मनोरञ्जनको माध्यम मात्र नभई समुदायको इतिहास, पहिचान र सभ्यतासँग जोडिएको महत्वपूर्ण सम्पत्ति भएको बताएका थिए । पुर्खाहरूले पुस्तौँदेखि जोगाउँदै आएका मौलिक परम्परा र संस्कृतिलाई नयाँ पुस्ताले पनि आत्मसात् गर्दै संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले थारु समुदायको मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले विकास निर्माणसँगै स्थानीय भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षणलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । थारु समुदायका अग्रजहरूले जोगाउँदै आएको संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

वडा अध्यक्ष चौधरीले लमही नगरपालिका वडा नम्बर ३ ले विगतका वर्षदेखि नै थारु समुदायको संस्कार, संस्कृति र भेषभूषाको संरक्षणका लागि चासो देखाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता मौलिक संस्कृति संरक्षणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी नागरिक समाज दाङका संयोजक नीमबहादुर थापाले थारु समुदायको मौलिक संस्कृति नेपालको सांस्कृतिक विविधताको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । उहाँले कुनै पनि समुदायको भाषा, संस्कृति र परम्परा लोप हुन नदिन स्थानीय तह, सामाजिक संघसंस्था तथा समुदाय स्वयं जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । नयाँ पुस्तामा आफ्नो संस्कृति र परम्पराप्रति अपनत्व जगाउन यस्ता सांस्कृतिक कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो ।

लमही नगरपालिका वडा नम्बर ३ का वडा सदस्य कृष्णा गिरीले थारु समुदायका मौलिक नाचगान, रहनसहन र भेषभूषाको संरक्षणमा महिला तथा युवापुस्ताको सहभागिता अझ बढाउनुपर्ने बताउनुभयो । उहाँले संस्कृति संरक्षणका लागि घरपरिवारदेखि समुदाय र स्थानीय तहसम्म सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

त्यस्तै वडा सदस्य सुमन कुमार अधिकारीले परम्परागत कला र संस्कृतिलाई व्यवहारमै निरन्तरता दिन सके मात्रै त्यसको वास्तविक संरक्षण हुने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई आफ्ना मौलिक चाडपर्व, नाचगान र संस्कृतिबारे जानकारी गराउँदै सांस्कृतिक गतिविधिमा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।


पत्रकार दशरथ घिमिरेले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा सञ्चारमाध्यमको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले स्थानीय समुदायका मौलिक पहिचान र सांस्कृतिक गतिविधिलाई समाचार तथा विभिन्न सञ्चार माध्यममार्फत प्रचारप्रसार गर्न सके त्यसले नयाँ पुस्तामा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा थारु समुदायका मौलिक तथा परम्परागत नृत्यहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा बड्का नाच, सुर्खेल नाच, झुम्रा नाचलगायतका सांस्कृतिक नृत्यले दर्शकको ध्यान आकर्षित गरेका थिए । थारु समुदायको मौलिक भेषभूषामा सजिएका कलाकारहरूले प्रस्तुत गरेका नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

यसैगरी थारु गायिका अनु चौधरीको सांगीतिक प्रस्तुतिले कार्यक्रममा थप रौनकता थपेको थियो । थारु समुदायका मौलिक गीत, संगीत र नृत्यलाई एउटै मञ्चमा प्रस्तुत गरिँदा आफ्नो संस्कृति र पहिचानप्रति गर्व गर्ने अवसर प्राप्त भएको सहभागीहरूले बताएका थिए ।

कार्यक्रममा नृत्य प्रस्तुत गर्ने तथा गीत गाउने कलाकारहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । कलाकारहरूको योगदानको कदर गर्दै उनीहरूलाई प्रोत्साहन गर्नुका साथै आगामी दिनमा पनि मौलिक कला र संस्कृति संरक्षणमा निरन्तर लाग्न प्रेरित गर्ने उद्देश्यले सम्मान गरिएको आयोजकले जनाएको छ ।

थारु साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष छवीलाल कोपिलाको अध्यक्षता तथा लमही नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मनोज कुमार चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष टीकाराम चौधरीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव यमबहादुर चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

लमही नगरपालिका वडा नम्बर ३ ले विगतका वर्षदेखि नै थारु समुदायको संस्कार, संस्कृति, भेषभूषा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । स्थानीय कला र संस्कृतिको संरक्षणमा वडा कार्यालयले देखाउँदै आएको चासोले समुदायमा सांस्कृतिक जागरण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आधुनिकता र बदलिँदो जीवनशैलीसँगै कतिपय मौलिक परम्परा तथा सांस्कृतिक अभ्यास हराउँदै जान थालेको अवस्थामा यस्ता कार्यक्रमले पुरानो पुस्ताले जोगाउँदै आएको सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ । थारु समुदायको मौलिक पहिचानलाई जीवन्त राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता समेत औँल्याइएको छ ।