उपचारमा सहयोग गर्न वडाले महायज्ञ चलाउने

तुलसीपुर, ३० कात्तिक । विपन्न नागरिकको उपचारमा आर्थिक सहायताका लागी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ले श्रीमद्भागवत जीवन विज्ञान महायज्ञ आयोजना गर्ने भएको छ ।

दिर्घरोगका विरामीसहित अन्य रोगका विरामीलाई आर्थिक सहयोगकालागि उक्त महायज्ञ आयोजना गर्न लागिएको वडाध्यक्ष माधव वलीले बताउनुभयो । आईतबार पत्रकार सम्मेलन गरि उहाँले आर्थिक अभाबकै कारण उपचारबाट बञ्चित हुनुपर्ने अबस्था रहेको र धेरै नागरिक वडामा सहयोग माग्न आउने गरेको भन्दै त्यस्ता नागरिकलाई सहयोग गर्न महायज्ञबाट रकम संकलन गर्न लागिएको हो ।


वडाले महायज्ञबाट संकलन गरेको उक्त रकम कोषमा जम्मा गर्ने वडाध्यक्ष वलीले बताए । उक्त कोषको रकमलाई वडाको सिफारिश समिति र कोष परिचालन समितिले पारीत गरेपछि वडाले उक्त सहयोग रकम भुक्तानी गर्ने अध्यक्ष वलीको भनाई छ ।
उपमहानगरपालिकाले यस सम्बन्धि कार्यविधि समेत बनाएको भन्दै सोही कार्यविधिमा टेकेर उक्त महायज्ञ सञ्चालन गर्न लागिएको हो ।

उहाँका अनुसार आगामी मंसिर ६ गतेदेखि १५ गतेसम्म उक्त महायज्ञ सञ्चालन हुनेछ । जसबाट न्यूनतम करिब एक करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञको मुख्य वाचकका रुपमा पण्डित अमृतशरण देवाचार्य रहेका छन् ।