काठमाडौं, ११ माघ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशको चार सदस्यका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहान ९ बजेबाट सुरु भएको मतदानमा ३ बजेसम्म तीन सय ४२ जनाले मतदान गरेका छन्।
मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार मतदानमा प्रदेश सभाको एक सय १० जना सदस्यमध्ये एक सय आठजना र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ जना मतदातामध्ये दुई सय ३४ जनाले मतदान गरेका छन्।
निर्वाचन अधिकृत सञ्जेलले प्रदेश सभातर्फ दुई र स्थानीय तहतर्फ तीनजना मतदानमा सहभागी नभएको जानकारी दिए। निर्वाचनमा प्रदेश सभका दुई र स्थानीय तहतर्फका तीनजना गरी पाँचजना मतदाता अनुपस्थित भएका हुन्।
मतदानमा हाम्रो नेपाली पार्टीका प्रदेश सांसद शैलेन्द्र बज्राचार्य र सरिता खड्गी सहभागी भएनन्। यस्तै, काठमाडौंका मेयर बालेन साह, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामा र काभ्रेको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा मतदानमा सहभागी भएनन्।
निर्वाचनको मतगणता ४ बजेबाट सुरु गरिने निर्वाचन अधिकृत सञ्जेलले बताए। राष्ट्रिय सभाको चार सदस्यका लागि भएको निर्वाचनमा बागमती प्रदेशबाट १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
लाइभदाङ । ११ माघ २०८०, बिहीबार १५:३५ बजे