
भालुबाङ, १९ असोज।
दाङको राप्ती गाउँपालिकाले मुक्त कमैया–कम्लहरी समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यले वितरण गरेको माउ बाख्राको स्थलगत अनुगमन गरेको छ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमअन्तर्गत मुक्त कमैया–कम्लहरी समुदायका ५० घरपरिवारलाई माउ बाख्रा वितरण गरेको थियो।
बाख्रापालनमार्फत लाभग्राही परिवारको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमको प्रभावकारिता तथा बाख्राको अवस्थाबारे अनुगमन गरिएको हो।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरी र उद्यम विकास शाखा प्रमुख बिनिता चौधरीले लाभग्राहीका घरमै पुगेर बाख्राको अवस्था, पालनपोषण तथा देखिएका समस्याबारे जानकारी लिनुभएको थियो।
अनुगमनका क्रममा कार्यवाहक अध्यक्ष चौधरीले वितरण गरिएका बाख्राको राम्रोसँग हेरचाह गरी संख्या वृद्धि गर्न र बाख्रापालनलाई आयआर्जनको दिगो माध्यम बनाउन लाभग्राहीलाई सुझाव दिनुभयो। उहाँले बाख्राको स्वास्थ्यमा विशेष ध्यान दिन, समयमै खोप तथा औषधि उपचार गराउन र व्यवस्थित खोर निर्माण गरी सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो।
उद्यम विकास शाखा प्रमुख चौधरीले बाख्रालाई उचित आहार, स्वच्छ पानी तथा सुरक्षित खोरको व्यवस्था गर्न सुझाव दिनुभयो। उहाँले बाख्रापालनलाई व्यावसायिक रूपमा अघि बढाउँदै उत्पादन वृद्धि गर्न सके परिवारको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने बताउनुभयो।
अनुगमनका क्रममा लाभग्राहीले बाख्रापालनमा देखिएका समस्या तथा आवश्यकताबारे जानकारी गराएका थिए। गाउँपालिकाले कार्यक्रमबाट प्राप्त उपलब्धि र चुनौतीका आधारमा आगामी दिनमा आवश्यक सहयोग तथा सहजीकरण गर्ने जनाएको छ।



लाइभदाङ । १९ आश्विन २०८३, सोमबार १८:२७ बजे